जेठ ३०, २०८२ शुक्रबार

काठमाडौँ, ३० जेठः नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष इञ्जिनियर गजेन्द्रप्रसाद थपलियाले तस्बिर प्रदर्शनीबाट प्राकृतिक सम्पदाको महत्व झल्किने बताउनुभयो छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले प्रदर्शनीमा राखिएका तस्बिरले प्राकृतिक सौन्दर्यताको महत्व झल्काउने र मुलुकमा पर्वतीय पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना प्रस्ट्याउने बताउनुभयो । 

    “राससले पर्यटकीय हिसाबले निकै महत्व बोकेको तस्बिर प्रदर्शनी गरेको छ । सजिलै तस्बिर  खिच्न नसकिने स्थानका फोटो प्रदर्शनीले पर्यटक प्रवद्र्धनमा सहयोग गर्छ,” उहाँले भन्नुभयो, “प्रदर्शनीले पर्यटकलाई पर्वतीय क्षेत्रका बारेमा जानकारी दिँदै प्रकृतिमा आधारित पर्यटक प्रवद्र्धनमा टेवा पुग्नेछ ।”

    राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिर प्रदर्शनीबारे जानकारी गराउँदै प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।