जेठ ३०, २०८२ शुक्रबार

काठमाडौँ, ३० जेठ : साहित्यकार तथा पत्रकार श्याम रिमालको कविता सङ्ग्रह ‘हिमाल त कालै भएछ’ विमोचन गरिएको छ ।

    नेपाली नाटकका प्रणेता गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्तीको अवसरमा कवि रिमालसहित साहित्यकार तथा पत्रकार गान्धीराज काफ्ले, नियात्राकार विष्णुप्रसाद शर्मा पराजुली, पूर्वप्रशासक तथा साहित्यकार हरिप्रसाद रिमाल, मदनप्रसाद रिमाल र स्कन्दा रिमालले पुस्तक लोकार्पण गर्नुभएको हो ।

    साहित्यकार तथा पत्रकार गान्धीराज काफ्लेले कविता सङ्ग्रह पठनीय र माननीय भएको बताउँदै विविध विषयमा छोटा तर चोटिला कविताहरु लेखिएको बताउनुभयो । नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीले कविता सङ्ग्रहमा जलवायु परिवर्तनले मानव, जीवजन्तुमा पारेको असरलगायत राजनीतिक आक्रोश, व्यङ्ग्यलगायतका विषय समेटिएको बताउनुभयो ।

    प्रकाशक शुभम अधिकारीले कविता सङ्ग्रहले राजनीति, युद्धदेखि जलवायु परिर्वतन, प्रदूषणसम्मका विषयवस्तु बोकेको बताउँदै विविध विषयमा लेखिएका कवितालाई सङ्ग्रहित गर्ने उद्देश्यले प्रकाशन गरिएको बताउनुभयो । सङ्ग्रहमा ‘बिहे’, ‘म पनि पत्रकार हुँ’, ‘जाडोको वर्ग’, ‘हिमाल त कालै भएछ’ लगायत २९ वटा कविता छन् ।

    रिमालका यसअघि एउटा काँढा बिझ्दा (गीत सङ्ग्रह), त्रिशूलीको किनाराबाट (कविता सङ्ग्रह), बारपाक (कविता सङ्ग्रह), नदी बग्दैन (कविता सङ्ग्रह), चमेरो : कोरोना कविता गरी पाँच वटा पुस्तक प्रकाशित भइसकेका छन् ।