काठमाडौँ, ३० जेठ : बागमती प्रदेशकी अनिशा थारूले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा आज नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भङ्ग गरेकी हुन् ।
लुम्बिनीकी पिन्जु चौधरी दोस्रो तथा कर्णालीकी सरिता शाही तेस्रो भए । छात्रा ट्रिपलजम्पसहित छात्रछात्राको चार गुणा एक सय मिटर रिलेमा गरी तीन कीर्तिमान बने । छात्र चार गुणा एक सय मिटर रिलेमा बागमतीका प्रवीण रानामगर, सन्त दराई, सुविन लामा र नीरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पारे ।
बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारू, तुलसीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीको ४४.०० सेकेन्डको कीर्तिमान तोडेका हुन् । गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो बने ।
सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारू, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चँदै कीर्तिमान स्थापित गरे ।
लुम्बिनीका निशा चौधरी, रेसु थारू, रामकुमारी थारू र सम्झना थारूको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी टोलीले २०७९ सालमा उक्त कीर्तिमान बनाएका थिए । गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहे ।