जेठ ३०, २०८२ शुक्रबार

    ब्रसेल्स, बेल्जियम, ३० जेठ : युरोपेली सङ्घ (इयू) का सदस्य राष्ट्रहरुले रुस युद्धबाट भागेर आएका युक्रेनी शरणार्थीलाई दिइएको अस्थायी सुरक्षाको अवधि एक वर्ष थप गर्दै सन् २०२७ को मार्चसम्म इयूमा बस्न अनुमति दिएका छन् ।     
     
जर्मनी, पोल्याण्ड र चेक रिपब्लिकले सबैभन्दा ठूलो समुदायलाई आश्रय दिएको छ भने करिब ४३ लाख युक्रेनी शरणार्थीका रूपमा इयूमा दर्ता भएका छन् ।     
     
“रुसले अन्धाधुन्ध हवाई आक्रमण गरेर युक्रेनी नागरिकलाई आतङ्कित बनाइरहेको छ तर इयूले आफ्नो ऐक्यबद्धता देखाइरहेको छ,” पोल्याण्डका आन्तरिक मामिलामन्त्री टोमास्ज सिमोनियाकले भन्नुभयो ।     
     
“हामी लाखौँ युक्रेनी शरणार्थीलाई अर्को एक वर्षसम्म सुरक्षा प्रदान गरिरहनेछौँ।”     
     
सन् २०२२ को फेब्रुअरीमा रूसले आफ्नो छिमेकी युक्रेनमाथि पूर्ण आक्रमण गरेपछि २७ राष्ट्रको समूहले युक्रेनीहरूलाई अस्थायी सुरक्षा प्रदान गरेको थियो।     
     
गत हप्ता लक्जेम्बर्गमा आन्तरिक मामिला मन्त्रीहरूको बैठकमा सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्ने युरोपेली परिषद्ले ‘सर्वसम्मत समर्थन’ का साथ युरोपेली आयोगले प्रस्ताव गरेको यो कदमलाई समर्थन गरेको परिषद्ले जनाएको छ।     
     
मन्त्रीहरूले यस प्रणालीको अन्त्यको तयारीबारे पनि बहस सुरु गरेका छन् । केही युक्रेनीहरूलाई आफ्नो देशमा फर्कने अपेक्षा गरिएको छ भने धेरै अझै इयूको घेराभित्र नै रहने इच्छा प्रकट गर्ने देखिएको छ ।     
     
अस्थायी सुरक्षाबाट लाभान्वित व्यक्तिहरूले इयूभरी आवासीय अनुमति, श्रम बजार र आवासमा पहुँच, चिकित्सा सहायता, सामाजिक कल्याण र शिक्षामा पहुँचजस्ता समान अधिकारहरू उपभोग गर्दछन् ।     
     
इयू राष्ट्रहरूले द्वन्द्वको प्रारम्भिक चरणमा लाखौं युक्रेनीहरूलाई खुला दिलले स्वागत गरेका थिए तर केही देशहरूमा पर्खाइको धैर्यता कमजोर भएको सङ्केतहरू देखिन थालेका छन् । द्वन्द्व चौथो वर्षमा लम्बिदै जाँदा शान्ति प्रयासहरू अस्तव्यस्त भएका छन्।     
     
युद्धका बेला किएभको कट्टर समर्थक र १० लाख युक्रेनी शरणार्थीको बसोबास रहेको पोल्याण्डले हालै राष्ट्रपति निर्वाचित गरेको छ जसले आफ्नो सुविधा कटौती गर्न चाहेको छ ।     
     
करिब १२ लाख युक्रेनी शरणार्थी रहेको जर्मनीले पनि आप्रवासनमा राष्ट्रिय मनोदशा कडा हुँदै गएकाले लाभमा अङ्कुश लगाउने विचार गरिरहेको छ ।