जेठ ३१, २०८२ शनिबार

काठमाडौँ, ३१ जेठ : काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘एक वडा, एक नमूना कार्यक्रम’ थप प्रभावकारी बन्दै गएको छ ।  

यस कार्यक्रमअन्तर्गत यस वर्ष थपिएका वडा नम्बर ११, १९, २०, २३, २५, २८, २८ र ३१ गरी आठ वटा वडामा अहिले सीप विकास तालिम चलिरहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।  उपप्रमुख डङ्गोलका अनुसार वडा नम्बर ३, ४ र २२ अहिले स्तरोन्नति सीप विकास तालिम सञ्चालन भइरहेको छ ।  

कामपामा रहेको ३२ वटा वडामध्ये गएको वर्ष १५ वटा वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ थालिएका थिए । यस वर्ष आठ वटा थपिएपछि २३ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ र अन्य बाँकी वडामा पनि त्तकाल उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी कामपाको रहेको छ ।  

यससँगै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत पनि तालिम चलिरहेका छन । वडा नम्बर १० मा कुकिङ, हस्तकला र अचार बनाउने तालिम सम्पन्न भएको छ । वडा नम्बर १४ मा अल्लोको झोला र मकैको खोस्टाबाट सामान बनाउने स्तरोन्नति तालिम सञ्चालनमा छ । “सामान उत्पादन गर्न जानेपछि बजारीकरणको सीप आवश्यक पर्छ । यसका लागि पहिले तपाईँहरू बजारका लागि पर्याप्त सामान उत्पादन गर्नसक्ने हुनुपर्छ । सामान गुणस्तरीय हुनुपर्छ । यसपछि हामी बजारीकरणमा सहयोग गर्ने पनि उपप्रमुख डङ्गोलले भन्नुभयो ।”

यस वर्ष थालिएका ११ वटा वडाहरू वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका (धागो), सुर्के थैली र रिबनका फूल बनाउने, पपेट बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरी, फ्रोजन मःम सहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने उद्यम सञ्चालन गरिने जनाइएको छ । 

यसरी प्रत्येक वडामा उत्पादन गरिएको  सामग्रीको बजारीकरण गर्न वडास्तरीय कोसेलीघर स्थापना गरिएको जानकारी दिनुभयो ।