असार १, २०८२ आइतबार

राँझा (बाँके), १ असार : कोहलपुर नगरपालिका वडा नं १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।  

वर्षौँदेखि बसोबास गर्दै आएका कोहलपुर १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो । 

“हामी धमाधम काम गरेर अव्यवस्थित बसोवासी तथा सुकुम्वासी जनतालाई जग्गाको धनी बनाउन लागिपरेका छौँ”, अध्यक्ष खनालले भन्नुभयो, “हामीले पाएको जिम्मेवारीअनुसार जनताको आशा र अपेक्षा पूरा गर्न लागिपरेका छाँै ।”

कोहलपुर –१ का थप सात सय ७४ अव्यवस्थित बसोवासीलाई असार ५ गतेबाट लालपुर्जा वितरण गर्नेगरी काम भइरहेको आयोगले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले भूमिसम्बन्धी समस्या समाधानमा आवश्यक सहयोग र समन्वयका लागि नगरपालिका सधैँ तत्पर रहेको बताउनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आयोगको काममा स्थानीय तह, जनप्रतिनिधि र राजनीतिक दलहरूले समेत जिम्मेवारपूर्ण तरिकाले सघाउनुपर्नेमा जोड दिनुभयो ।

भूमि समस्या समाधान आयोग जिल्ला समितिले हालसम्म बाँकेको कोहलपुर नगरपालिका–१ मा एक सय १७ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको छ । 

बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत तवरले काम भइरहेको अध्यक्ष खनालले बताउनुभयो । उहाँले सानातिना विवादमा नअल्झिएर फिल्डमा खटिएका प्राविधिकलाई आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गर्नुभयो ।