असार १, २०८२ आइतबार

    देहरादून (भारत), १ असार:  भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।     
     
 बिहीबार पश्चिमी भारतीय सहर अहमदाबादको आवासीय क्षेत्रमा यात्रु विमान ठोक्किँदा कम्तीमा दुई सय ७९ जनाको मृत्यु भएकोमा आफन्तहरूले शोक व्यक्त गर्दा यो घातक दुर्घटना भएको हो ।     
     
 उत्तराखण्ड राज्यको केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटनामा पाइलट र सबै छ जना यात्रुको मृत्यु भएको आपत्कालीन प्रतिक्रिया अधिकारी नन्दन सिंह राजवारले एएफपीलाई बताउनुभयो ।     
     
 राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले ‘अत्यन्त दुःखद समाचार’ पछि उद्धार टोलीहरू घटनास्थलमा पठाइएको बताउनुभयो ।     
     
 जिल्ला पर्यटन अधिकारी राहुल चौबेका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुनसक्छ ।     
     
 केदारनाथ मन्दिर तीन हजार पाँच सय ८४ मिटर (११ हजार सात सय ५९ फिट) उचाइमा अवस्थित छ र गर्मीको समयमा यहाँ पहुँच सम्भव हुँदा तीर्थयात्रीहरूको भीड लाग्छ ।     
     
 हेलिकप्टर चार्टर फर्महरूको कुटीर उद्योग भारतीय हिमालयका तीर्थस्थलहरू भ्रमण गर्न चाहने तर कठिन पदयात्राबाट बच्न रुचाउने धनी तीर्थयात्रीहरूलाई सेवा दिन विकसित भएको छ ।     
     
 गत महिना मन्दिर जाने बाटोमा भएको अर्को हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।