असार ३, २०८२ मंगलबार

काठमाडौँ, ३ असारः नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले मुलुकको पर्यटन प्रवर्द्धन गर्न राष्ट्रिय समाचार समिति (रासस)को तस्बिर प्रदर्शनी महत्त्वपूर्ण भएको बताउनुभएको छ । 

    अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि अध्यक्ष थपलियाले प्रदर्शित तस्बिरले प्रकृतिसँगको सामीप्यता र सम्पदाको संरक्षण एवं प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

    “प्रदर्शनीमा हामीले फोटो मात्रै हेरिरहेका छैनौँ, प्रकृतिको सामीप्यता प्राप्त हुने र देशको विभिन्न स्थानको सम्पदा,  संस्कृतिलाई पनि उजागर गरिएको छ,”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको जोखिमको असर नेपालमा परेको र हिमाल पग्लिरहेको सन्दर्भमा यसलाई अन्तरराष्ट्रियकरण गर्न फोटोलाई विदेशस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत सचेतना अभिवृद्धि गर्न जरुरी छ ।”
 
    नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्यसमेत रहनुभएका थपलियाले पर्वतीय पर्यटनसम्बन्धी तस्बिरहरुलाई अन्तरराष्ट्रियकरण गर्न विभिन्न निकाय र ‘टुरिजम अपरेटर’मार्फत पहल गर्नुपर्ने र आगामी दिनमा यस्ता रचनात्मक कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “देशका सुन्दर गन्तव्यहरुको प्रचार–प्रसार हुन सकेको छैन । सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारेर विश्वभरका पर्यटनलाई नेपाल गन्तव्यमा आकर्षण गरिनुपर्छ ।”

    उहाँले पर्यटनकर्मी विभिन्न मुलुकमा ‘सेल्स मिसन र टुर मिटिङ’मा जाँदा पर्वतीय पर्यटन र साहसिक गन्तव्यका तस्बिरहरुलाई त्यहाँ प्रदर्शन गर्नसकेको खण्डमा नेपालको पर्यटन प्रवर्द्धनका निम्ति टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रबहादुर लामाले राससको तस्बिर प्रदर्शनीमा देशभरका तस्बिर एकै थलोमा नियाल्न सकिने भएकाले यस प्रदर्शनीले पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रियजगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

    सो अवसरमा अध्यक्ष थपलियाले रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्षको पनि अवलोकन गर्नुभएको थियो । गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।