असार ५, २०८२ बिहिबार

    ब्रसेल्स, ५ असार (एएफपी) : मुख्य युरोपेली शक्तिहरू फ्रान्स, जर्मनी र बेलायतका विदेशमन्त्रीहरू र युरोपेली सङ्घ (इयु) का कूटनीतिज्ञले शुक्रबार जेनेभामा आफ्ना इरानी समकक्षीसँग आणविक वार्ताको लक्ष्य राखेको युरोपेली कूटनीतिज्ञहरूले बताएका छन् ।     
     
 योजना गरिएको यो बैठक इरानको आणविक कार्यक्रमविरुद्ध इजरायलको बमबारी अभियानको सामना गर्दै युरोपेली देशहरूले तनाव कम गर्न आह्वान गरेको बेलामा आएको हो ।     
     
 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले इरानलाई आक्रमण गर्दा र तेहरानले मिसाइल प्रहारको जवाफ दिँदा इरानका आणविक सुविधाहरूविरुद्ध सैन्य कारबाहीका बारेमा विचार गरिरहेको चेतावनी दिनुभएको छ ।     
     
 इजरायलले आफ्नो हवाई अभियानको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएको छ ।     
     
 इरानले ६० प्रतिशत युरेनियम संवर्धन गरिरहेको थियो । यो अन्तर्राष्ट्रिय शक्तिहरूसँगको सन् २०१५ को सम्झौताले तय गरेको तीन दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै, तर अझै पनि आणविक हतियारको लागि आवश्यक ९० प्रतिशत सीमाभन्दा कम छ ।     
     
 फ्रान्स, जर्मनी, बेलायत र इयु सबै सन् २०१५ को सम्झौतामा हस्ताक्षरकर्ता थिए । उक्त सम्झौतालई ट्रम्पले आफ्नो पहिलो कार्यकालमा परित्याग गर्नुभएको थियो ।     
     
 इयुका विदेश नीति प्रमुख काजा कालासले इरानले आणविक बम विकास नगर्ने सुनिश्चित गर्न कूटनीति नै सबैभन्दा राम्रो मार्ग रहेको कुरामा जोड दिनुभएको छ ।