हुम्ला, भदौ २० गते । कर्णालीमा मात्र उत्पादन हुने चिनो चामल रोगको उपचारमा सहयोग पुग्ने भएपछि माग बढेको छ ।
सिमकोट बजार र जिल्लामा आउने आन्तरिक पर्यटकहरूले बढी उक्त चामल खरिद गर्ने गरेका छन् । मधुमेहको उपचारमा सहयोग पुग्ने भएको कारण चिनो चामलको माग बढेको हो । अर्गानिकका साथै पौष्टिक रूपमा पनि मानिसका लागि उपयुक्त भएको कारण चिनो चामलको भात खाने गरिएको छ । साबिकको कर्णाली प्रदेशमा मात्र उत्पादन हुने चिनो हुम्ला जिल्लाभरि उत्पादन हुने कृषि विकास कार्यालयले जनाएको छ । हुम्लामा चार सय भन्दा बढी हेक्टर जग्गामा चिनो उत्पादन हुने गरेको छ । यसबाट आठ सय भन्दा बढी मेट्रिक टन चिनो उत्पादन हुने कार्यालयको तथ्याङ्क रहेको छ ।