असार ६, २०८२ शुक्रबार

जानकी (बाँके), ६ असारः नेपालगञ्जका फोटोपत्रकार  अमित रावलले चौथो नेपालगञ्ज तस्बिर महोत्सवको पिपुल्स च्वाइस अवार्ड जित्नुभएको छ । 

अन्तरालले आयोजना गरेको तस्बिर महोत्सवमा राष्ट्रिय फोटो प्रतिस्पर्धाबाट उत्कृष्ट ३१ मा पर्न सफल तस्बिरमध्ये रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरुको तस्बिरले इ–सेवा भोटिङमा सर्वाधिक ६ हजार ७७७ मत प्राप्त गर्दै पिपुल्स च्वाइस अवार्ड जित्न सफल भएको हो ।

लुम्बिनी प्रदेशसभा सदस्य माया पुनद्वारा रावललाई रु ५० हजार १११ राशिको पुरस्कारसहित अवार्ड प्रदान गरिएको थियो । अवार्ड प्राप्त गरेपछि रावलले पुरस्कारले तस्बिर खिच्न र संरक्षणको काममा आफूलाई अझै प्रोत्साहित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोहलपुरका मिर्गौलापीडित फिरोज बक्सलाई यस पुरस्कारबाट रु १० हजार उपलब्ध गराउँछु”, उहाँले भन्नुभयो । 

महोत्सवमा नेपालगञ्जका तिलक गाहा मगरले खिचेको तस्बिरले खेलकुद विधातर्फ, कृषि विधातर्फ बबी साई, संस्कृति विधातर्फ सञ्जय महर्जन, दैनिक जीवन विधातर्फ विजय थापा, प्रकृति र संरक्षण विधातर्फ रोमिन थारु, नेपाल स्माईल विधातर्फ  जीवन लामा, वाईल्ड लाइफ विधातर्फ विनय रावल, टुरिजम विधातर्फ मनोज पौडेल र समाचार विधातर्फ बरम बुढाको  तस्बिर उत्कृष्ट घोषित भएका छन् ।

विधागत उत्कृष्ट तस्बिर विजेतालाई जनही रु पाँच हजार  पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिर ‘फोटो अफ द इयर’ घोषित भएको छ । उक्त तस्बिरले रु ५१ हजार १११ पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी अन्तरालको आयोजनामा सञ्चालन भएको दुई दिने फोटोग्राफी तालिम सम्पन्न भएको छ । तालिममा सहभागी ३९ जनालाई समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो । प्रतिस्पर्धामा देशभरबाट छानिएका १११ तस्बिर खिच्नेलाई प्रमाणपत्र प्रदान गरिनुका साथै ती तस्बिर नेपालगञ्ज, सङ्घीय राजधानी काठमाडौँ र सातै प्रदेशमा हुने तस्बिर प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ ।