गण्डकी, १० असारः पोखरा महानगरपालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै खाद्य सुरक्षा र कृषकको आम्दानी वृद्धिमा जोड दिँदै उनीहरूलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गरिने उल्लेख गरिएको छ ।
‘उत्पादनमा वृद्धि, महानगरको समृद्धि’ भन्ने अवधारणाअनुरूप कृषिको आधुनिकीकरण, विशिष्टीकरण, विविधीकरण र व्यावसायिकीकरण गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।
भूमि वर्गीकरण, भूमि बैङ्क तथा वित्तीय पहुँचः भू उपयोग ऐन र नियमावलीअनुसार भूमि वर्गीकरण गरिने नीति तथा कार्यक्रममा भनिएको छ । भूमि बैङ्कमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै लगानी वृद्धिका लागि कृषि ऋणमा लाग्ने ब्याजमा ५० प्रतिशत सहुलियत उपलब्ध गरिने जनाइएको छ ।
खेतीयोग्य गह्रा बनाऔँ हराभरा अभियानका साथ हिउँदे बाली (गहुँ, तोरी, आलु, चैते धान, तरबुजा) को क्लस्टरमा खेती गरिने उल्लेख गर्दै प्रमुुख आचार्यले महानगरपालिकाभित्र सिँचाइ क्षेत्र विस्तार गर्दै थोपा, प्लास्टिक पोखरी, लिफ्ट, कुलो र पाइप सिँचाइमार्फत वर्षभरि भरपर्दो सामूहिक पहुँच बढाई बाली सघनता वृद्धि गरिने बताउनुभयो ।
पहाडी तथा काष्ठफल फलफूल आयोजनाको साझेदारीमा सुन्तला, कागती, मेकाडेमिया नट, एभोकाडो आदिको क्षेत्र विस्तार गरिने उहाँले बताउनुभयो । प्रभावकारी सूचना, प्रविधि, सञ्चार गर्दै कृषि प्रसारका लागि डिजिटल कृषि प्रणाली अवलम्बन गरिनाका साथै उत्पादन पकेट क्षेत्रमा कृषि तथा पशुपन्छी सेवा प्राविधिकको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
किसान सूचीकरण कार्यलाई अभियानका रूपमा सञ्चालन गरिने र सेवा प्रवाहमा जोडिने महानगर प्रमुख आचार्यले बताउनुुभयो । दिगो कृषिको आधारका रूपमा प्राङ्गारिक खेतीको विस्तारका लागि प्राङ्गारिक पकेट स्थापना र वातावरणमैत्री सहरी कृषिमा जोड दिइने उहाँले बताउनुभयो ।
माटोको जैविक गुणस्तर कायम राख्न प्राङ्गारिक मल उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्दै, रासायनिक मल र विषादीको प्रयोगलाई नियमन गरी मानव स्वास्थ्य तथा जैविक विविधताको संरक्षण गरिने महानगरपालिकाले जनाएको छ ।