असार १०, २०८२ मंगलबार

सुदूरपश्चिम, १० असारः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुनजन्य विपद्का लागि उच्च सतर्कता अपनाएर काम गर्न सुरक्षा निकाय र मातहतका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको वर्षाका कारण हुनसक्ने विपद् पूर्वानुमान तयारीको अवस्था र सहजीकरणसम्बन्धी बैठकमा मुख्यमन्त्रीले विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो । विपद्बाट क्षति हुन नदिनका लागि वडास्तरबाटै जनप्रतिनिधिसँग समन्वय गर्न, राहत र उद्धारका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्न तथा साझेदार सङ्घसंस्थाको साझेदारीमा लाग्न पनि मुख्यमन्त्री शाहले निर्देश गर्नुभयो ।

    बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रमुख सचिव, आन्तरिक मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटीलगायतका प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा विपद्का कारण गत वर्ष पुगेको क्षति, विपद् व्यवस्थापनका लागि भएका प्रयास र अब गर्नुपर्ने पूर्वतयारीका बारेमा जानकारी दिइएको थियो ।

    बैठकमा यस वर्ष प्रदेशका केही जिल्लामा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र अछाम जिल्लामा सरदरभन्दा ४५ देखि ५५ प्रतिशत बढी वर्षा हुने पूर्वानुमान छ, प्रदेशका बाँकी जिल्लामा पनि ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने पूर्वानुमान छ ।” 

    सरदरभन्दा बढी वर्षा हुँदा प्रदेशभरिका ५२ हजार ११२ घरधुरीका दुई लाख २७ हजार ७३० जना प्रभावित हुने अनुमान गरिएको छ । प्रदेशमा यही असार ६ गते मनसुन भित्रिए पनि सक्रिय हुन नसक्दा हालसम्म ठूलो वर्षा हुन सकेको छैन । मनसुन सक्रिय हुने प्रणालीको क्रमशः विकास भइरहेको उहाँले जानकारी दिनुभयो ।