काठमाडौँ, १० असार : जनगणतन्त्र बङ्गलादेशका राजदूत मो शाफिकुर रहमानले राससले आयोजना गरेको तस्बिर प्रदर्शनीले जलवायु परिवर्तनको प्रभावले हिमालयका हिमनदी कसरी पग्लिरहेका छन् भनेर देखाउन सहयोगी भएको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले प्रदर्शनी राम्रो पहल भएको उल्लेख गर्नुभयो ।
प्रदर्शनीमा हिमालय शृङ्खला र विभिन्न क्षेत्रका जीवनशैली झल्किने सामग्री रहेका बताउँदै राजदूत रहमानले यी सामग्रीहरूले जलवायु परिवर्तनले नेपालको भूगोल र हिमाली शृङ्खला अर्थात् हिमालयसहितको सम्पूर्ण नेपाललाई कसरी असर पारिरहेको छ भनेर देखाएको धारणा व्यक्त गर्नुभयो ।
प्रदर्शनीले जलवायुका असर बारेमा नेपालभित्र र बाहिर जनचेतना फैलाउन मद्दत गर्ने बताउँदै उहाँले जलवायुका असर न्यूनीकरण सम्बन्धमा नागरिक समाज तथा विश्व समुदायसहित सबै अगाडि आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा राससका वरिष्ठ कार्यकारी अधिकृत शीतलप्रसाद महतोले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रियजगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभएको थियो ।
गत जेठ ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।