असार १०, २०८२ मंगलबार

काठमाडौं, १० असारः एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन छ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ ।

    यही असार १२ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा समान ३÷३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् ।

    टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला रहनुभएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिदै बिदाइ गर्नुभयो । 

    सो अवसरमा अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतको पनि उपस्थिति रहेको थियो । टोली भोलि उज्वेकिस्तान प्रस्थान गर्नेछ ।