फुङ्लिङ (ताप्लेजुङ), १० असारः ताप्लेजुङका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु चार अर्बभन्दा बढी रकमको बजेट प्रस्तुत गरेका छन् । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिकासहितका यी स्थानीय तहले कूल रु चार अर्ब २२ करोड ३० लाख ५२ हजार ५४५ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
सबैभन्दा बढी बजेट फुङ्लिङ नगरपालिकाले प्रस्तुत गरेको छ । फुङ्लिङ नगरपालिकाले रु ७६ करोड २७ लाख ३३ हजार ३८९ को बजेट पेस गरेको छ । आज आयोजित १८औँ नगर अधिवेशनमा नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाले यो बजेट सार्वजनिक गर्नुभएको हो ।
त्यसैगरी फक्ताङ्लुङ गाउँपालिकाले रु ५५ करोड ३८ लाख एक बराबरको बजेट १८ औँ गाउँ अधिवेशनमार्फत उपाध्यक्ष रवीन साम्रा लिम्बूले प्रस्तुत गर्नुभयो । यस्तै मिक्वाखोला गाउँपालिकाले रु ४० करोड सात लाख ७७ हजार ८१२, पाथीभरा याङ्वरक गाउँपालिकाले रु ५२ करोड ५१ लाख ७४ हजार ५५२ को बजेट क्रमशः उपाध्यक्ष डण्डु लामा शेर्पा र रनमाया गुरुङले सार्वजनिक गर्नुभयो ।
गएको सोमबार आठराई त्रिवेणी गाउँपालिकाले २१ औँ गाउँ अधिवेशन सम्पन्न गरी रु ५२ करोड ३६ लाख ५४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले उक्त अधिवेशनमा बजेट सार्वजनिक गर्नुभएको थियो ।
त्यसैगरी मैवाखोला गाउँपालिकाले सोमबार रु ४४ करोड ७१ लाख १६ हजार बराबरको बजेट उपाध्यक्ष कमलकुमार लिम्बूको नेतृत्वमा १७औँ गाउँ अधिवेशनमा सार्वजनिक गर्नुभएको थियो ।
मेरिङ्देन गाउँपालिकाले पनि सोमबार १८औँ गाउँसभा तथा अधिवेशनमार्फत रु ५० करोड ५७ लाख ५० हजार ९२८ बराबरको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङ्बाङले आगामी आवका लागि नीति तथा कार्यक्रमसहित उक्त बजेट पेश गर्नुभयो । यसअघि असार ५ गते गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले रु ४४ करोड ५२ लाख ८७ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको थियो ।
यस्तै सिरिजङ्घा गाउँपालिकाले पनि आइतबार १७ औँ गाउँ अधिवेशनमा उपाध्यक्ष डा चित्रकुमार माबो लिम्बूले रु कूल ५८ करोड ७५ लाख आठ हजार ८६३ को बजेट सार्वजनिक गर्नुभएको थियो । आजसम्ममा नौवटै स्थानीय तहले बजेटसँगै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिसकेका छन् ।