असार १०, २०८२ मंगलबार

काठमाडौँ, १० असारः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालमा नर्सिङ पढ्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएकाले सोहीअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्का आङ्गिक शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । 

    आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्को २०८औँ परिषद् बैठकमा उहाँले प्रयोगात्मक अभ्यासका लागि सङ्घ र प्रदेश मातहत रहेका सरकारी अस्पतालसँग सहकार्य गर्ने नीतिगत निर्णय गर्न मन्त्रिपरिषद् बैठकमा साझा प्रस्ताव तयार गरी पेस गर्न उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका प्रयोगात्मक अभ्यासमा केही जटिलता रहेका बताउँदै सङ्घको मातहतमा कम अस्पताल रहेकाले प्रदेश मातहतका अस्पतालसँग समन्वय गर्नुपर्ने राय व्यक्त गर्नुभयो । उहाँले नर्सिङको प्रयोगात्मक अभ्सासका लागि प्रमाणपत्र तह र स्नातक तहलाई एउटै अस्पतालमा अनुमति प्रदान गर्ने व्यवस्था गर्नसकेमा समस्या समाधान हुने भन्दै त्यसका लागि नीतिगत निर्णय आवश्यक पर्नेमा जोड दिनुभयो ।

    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका स्वास्थ्य मन्त्रालयका सचिव, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा र तालिम परिषद्का सदस्यसचिव तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले नर्सिङ जनशक्तिको अभाव बाहिर बजारमा आएजस्तो भयावह नरहेको, एउटा अस्पतालमा धेरै शैक्षिक संस्थाहरूले प्रयोगात्मक अभ्यासका लागि सम्झौता गर्ने गरेकाले समस्या देखिएको र नर्सिङ पढ्नका लागि प्रयोगात्मक अभ्यासका गर्न विशिष्टिकृत नभई जनरल अस्पताल आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो ।

    आजको परिषद् बैठकका शिक्षण संस्थाहरूको नाम परिवर्तन, स्वामित्व परिवर्तन (नामसारी) तथा ठाउँसारी, स्थगित कार्यक्रम पुनःसञ्चालन एवं संस्था समायोजना गर्ने, अधिकार प्रत्यायोजन, सम्बन्धन÷स्वीकृति प्रक्रिया पूरा गरेका र अदालतबाट निर्णय भई आएका शैक्षिक संस्था, सभाको तयारी तथा मिति तोक्ने विषय, गैरनाफामूलक साझेदारी संस्था र प्रतिष्ठान, आङ्गिक शिक्षालयमा कार्यक्रम थप गर्नेलगायत विषयमा छलफल भएको थियो । 

    बैठकमाथि उल्लेखित विषयवस्तुहरुमा गहन छलफल गरी उपस्थित परिषद्का सदस्य तथा पदाधिकारीहरूले आफ्नो धारणा व्यक्त गर्नुभयो ।