असार १०, २०८२ मंगलबार

महेन्द्रनगर (धनुषा), १० असारः जनकपुरधाम उपमहानगरपालिकाले १३औँ नगरसभाको आयोजना गर्दै आगमी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा फोहरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण, औद्योगिकीकरण, ग्रामीण पूर्वाधार विकासलगायत विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

    जनकपुरधामको प्रमुख समस्या बनेको लामखुट्टे नियन्त्रणका लागि विज्ञको परामर्शमा ठोस योजना लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य क्षेत्रमा विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा, विद्यालयमा स्वास्थ्य परीक्षण कक्ष, घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

    नीति अनुसार कुहिने र नकुहिने फोहर छुट्याएर ऊर्जा र कम्पोस्ट मल उत्पादन गर्ने, त्यसलाई कृषि कार्यमा प्रयोग गरिनेछ । फोहर व्यवस्थापनका लागि जनशक्ति र प्रविधि परिचालन गरिनेछ भने छिमेकी नगरसँग समन्वय गरी सामूहिक सेनेटरी ल्याण्डफिल साइट निर्माणको तयारी थालिने जनाइएको छ ।

    रङ्गभूमि मैदान र ऐतिहासिक पोखरीको सरसफाइ, डिल सौन्दर्यीकरण, पार्किङ समस्या समाधान, पर्यटक पथप्रदर्शकको कार्यविधि निर्माणलगायत काम अगाडि बढाइनेछ । दर्ता नभएका इरिक्सालाई परिक्रमा क्षेत्रमा निषेध गरी नियमनात्मक व्यवस्था गरिने जनाइएको छ । विद्यालयमा इन्टरनेट जडान, युवा स्वयंसेवक शिक्षक परिचालन, बाल क्लब स्थापनाका साथै धूमपान तथा चलचित्र हेर्नेमा प्रतिबन्ध लगाइनेछ । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गरिने र प्रत्येक दुई वर्षमा बृहत खेलकुद महोत्सव आयोजना गरिनेछ ।

    नीति तथा कार्यक्रम रु तीन लाखसम्मको सम्पत्ति कर तिर्ने करदातालाई छुट, समयमा कर बुझाउनेलाई महिला र पुरुष छुट्टाछुट्टै छुट दिइने छ । कर प्रणालीलाई सहज बनाउन मोबाइल एप निर्माण गरिनेछ । ‘एक वडा, एक उत्पादन’ तथा ‘एक वडा, एक पशु फार्म’ कार्यक्रममार्फत कृषि उत्पादनमा वृद्धि गरिनेछ । उत्कृष्ट किसानलाई पुरस्कार दिइनेछ । युवा बेरोजगारलाई रु पाँच लाखसम्म आर्थिक सहयोग, सीप विकास तालिमलगायत कार्यक्रम लागू गरिनेछ ।

    सडक नामकरण गरी वैज्ञानिक घर नम्बर प्रणाली लागू गरिने, खुला व्यायामशाला स्थापना गरिनेछ । प्लास्टिक झोला निषेध गरी वातावरण संरक्षण गरिने, विद्युतीय सवारी प्रयोगलाई प्रवर्द्धन गरिने योजना छ । उपमहानगरले स्थानीय सञ्चार माध्यमलाई सशक्त बनाउन पत्रकार महासङ्घ तथा अन्य सञ्चार संस्थासँग समन्वय गरी सहयोग गरिनेछ । 

    ‘उपमहानगर, हाम्रो जनकपुरधाम’ नामक रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिनेछ । नीति तथा कार्यक्रममा महिला, दलित, लक्षित वर्ग उत्थान, विपद् व्यवस्थापन, भू–उपयोग तथा बस्ती विकास, आपूर्ति र उद्योग–व्यापारका विषयमा समेत विस्तृत योजना समावेश गरिएको छ ।