असार १०, २०८२ मंगलबार

नवलपरासी, १० असारः बर्दघाट सुस्ता–पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ५३ करोड ९१ लाख १३ हजार ८२१ बराबरको बजेट सार्वजनिक गरेको छ । 

    आज विजयपुरमा १८औँ गाउँसभामा पाल्हीनन्दन गाउँपालिकाकी उपप्रमुख फातुमा खातुनले आगामी आवको नीति तथा र बजेट प्रस्तुत गर्नुभएको हो । चालुतर्फ रु ३४ करोड ३५ लाख ७६ हजार ५६४ र पुँजीगततर्फ रु १८ करोड ८० लाख १९ हजार ३९१ प्रस्ताव गरिएको छ । 

    बजेटमा सङ्घीय समानीकरण अनुदान रु ११ करोड ८० लाख, सङ्घीय सर्शत अनुदान रु १७ करोड १७ लाख चालुतर्फ सोधभर्ना अनुदान रु ५२ लाख, चालुतर्फ ऋण रु १० करोड पाँच लाख, युरोपियल युनियनबाट रु दुई लाख, पुँजीगततर्फ सोधभर्ना अनुदान रु एक करोड, आन्तरिकतर्फ ऋण रु ७५ लाख, पुँजीगततर्फ ऋण रु २१ लाख, पुँजीगततर्फ विशेष अनुदान रु दुई करोड र समपुरक अनुदान रु एक करोड रहेको छ ।

    राजश्व बाँडफाँडअन्तर्गत मूल्य अभिवृद्धिकरतर्फ रु ७० करोड ७९ लाख ७७ हजार १७, राजस्व बाँडफाँडअन्तर्गत अन्तशुल्कतर्फ रु दुई करोड ३५ लाख ९९ हजार २३९ रहेको जनाइएको छ ।

    लुम्बिनी प्रदेश सरकारको समानीकरण अनुदानबाट रु ७७ लाख ४४ हजार, प्रदेश सरकारको सर्शत अनुदान कार्यक्रमबाट रु १० करोड पाँच लाख, प्रदेश राजस्वतर्फ रु ९६ लाख ५५ हजार, आन्तरिक आम्दानी रु एक करोड ५५ लाख ५० हजार, अन्य स्रोतबाट रु चार करोड पाँच लाख, मालपोत दर्ताबापत रु आठ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेटबाट प्राप्त हुने आम्दानीलाई बजेटमा समावेश गरिएको छ । 

    गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भइसकेपछि उपप्रमुख खातुनले पेस गर्नुभएको बजेट पारित गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बृजकिशोरप्रसाद शाहले जानकारी दिनुभयो ।