भियन्टियन, १० असार (सिन्ह्वा) : लाओस सरकार स्थानीय समुदायहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले रबर खेती प्रवद्र्धन गर्न एक निजी रबर उद्योगसँग सहकार्य गर्दै अगाडि बढेको छ। यो पहलले हरित क्षेत्रको विस्तारसँगै स्थायी आम्दानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ, जसबाट परिवारको आर्थिक स्थिति सुदृढ हुँदै समुदायहरू क्रमशः गरिबीबाट मुक्त हुने विश्वास लिइएको छ ।
उत्तर लाओसको बोकेओ प्रान्तमा अवस्थित पाक्था जिल्लामा पाँच हजार हेक्टर क्षेत्रफलमा रबर खेती विस्तार गर्न ३० वर्षे साझेदारी सम्झौता सम्पन्न भएको लाओ न्युज एजेन्सीले जानकारी दिएको छ । राजधानी भियन्टियनदेखि करिब ३५० किलोमिटर टाढा पर्ने यस क्षेत्रमा कार्यान्वयन गरिने योजनाअनुसार, उक्त कारखानाले किसानहरूलाई रबरका बिरुवासँगै रोपाइँ, संरक्षण र रबर संकलनसम्बन्धी आवश्यक तालिमसमेत प्रदान गर्नेछ ।
स्थानीय कृषकहरू यस प्रक्रियामा सक्रिय रूपमा संलग्न हुनेछन्, जसबाट रोजगारीका अवसरहरू सिर्जना हुने र आम्दानी स्थिर हुँदै जाने अपेक्षा गरिएको छ। यसले ग्रामीण जीवनस्तर सुधार गर्ने र दिगो आर्थिक विकासमा योगदान पु¥याउने विश्वास गरिएको छ।
यस परियोजनाले दीर्घकालीन सामाजिक–आर्थिक समृद्धि, वातावरण संरक्षण तथा हरियाली विस्तारलाई विशेष प्राथमिकता दिएको छ। सम्बद्ध निकायहरूले सबै सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको औँल्याएका छन्, जसबाट परियोजनाको सफलता र लाभको न्यायसंगत वितरण सुनिश्चित गर्न सकिन्छ ।
रबर खेतीलाई हरित क्षेत्र विकास गर्ने र खेतीलाई दीगो र व्यवहारिक पेशाको रूपमा स्थापित गर्ने रणनीतिको एक महत्वपूर्ण अङ्गका रूपमा हेरिएको छ ।
लाओस सरकारले ग्रामीण क्षेत्रमा गरिबी न्यूनीकरण गर्दै समग्र जीवनस्तर उकास्ने उद्देश्यले कृषि क्षेत्रलाई प्रमुख माध्यमका रूपमा विकास गर्दै आएको छ ।