कञ्चनपुर, ११ असारः कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ । प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि ५५ दशमलव नौ मेट्रिकटनका दरले डिएपी मल वितरण गर्ने गरी कोटो निर्धारण गरिएको कृषि सामग्री कम्पनी महेन्द्रनगरका निमित्त प्रमुख सुन्दर केसीले बताउनुभयो ।
कम्पनीलाई भैरहवा कार्यालबाट ६९८ दशमलव ४ मेट्रिक टन डिएपी मल प्राप्त हुनेछ । जसमध्ये हाल २५० मेट्रिकटन डिएपी प्राप्त भइ र वितरण सुरु भएको उहाँको भनाइ छ ।
हाल कम्पनीसँग १८९ दशमलव १५ मेट्रिकटन डिपिए, ९७४ दशमलव ४५ मेट्रिकटन युरिया र ७६ दशमलव ५ मेट्रिकटन पोटास छ । उहाँका अनुसार चालु आवमा तीन हजार ८८० मेट्रिकटन डिएपी र पाँच हजार ४५३ मेट्रिकटन युरिया विक्री तथा वितरण भइसकेको छ ।
कम्पनीले युरिया प्रतिबोरा रु ९४०, डिएपी प्रतिबोर दुई हजार ३९४ र पोटास प्रतिबोरा एक हजार ७९४ का दरले सहकारीलाई बिक्री भइरहेको छ । जिल्लामा अनुदानको युरिया मल पर्याप्त भए पनि डिएपी मलको भने अभाव छ ।