असार १२, २०८२ बिहिबार

काठमाडौँ, १२ असारः यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । मदन भण्डारी फाउण्डेशनले यहाँ आज पत्रकार सम्मेलन गरी रु एक लाख राशिको सो पुरस्कार व्यवसायी शेर्पालाई प्रदान गर्ने निर्णय गरेको हो । 

    उक्त पुरस्कार यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तिका अवसरमा आयोजना हुने  कार्यक्रममा प्रदान गरिने छ । पर्यटन व्यवसायी शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङ्ग गाउँमा जन्मिनु भएको हो । उहाँले ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय रहनुका साथै नेपाल पर्वतारोहण सङ्घको पटक पटक गरी १५ वर्ष अध्यक्षका रूपमा नेतृत्व गर्नु भएको छ । शेर्पा अहिले पनि जलवायुमैत्री हिमाली सङ्गठन, विश्व पर्वतारोहण महासङ्घ, एसिएन पर्वतारोहण महासङ्घ, विश्व पर्वतारोही सङ्घ, हिमालयन होष्ट कन्ट्रिजजस्ता संस्थामा नेतृत्वकारी भूमिका निर्वाह गरिरहनुभएको छ । 

    फाउण्डेशनले नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता भण्डारीकोे योगदानको स्मरण गर्दै उहाँको विचार र मार्ग दर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण काम गर्ने संस्था र व्यक्तित्वलाई सामाजिक पहिचान र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्न २०६८ सालदेखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।