असार १२, २०८२ बिहिबार

काठमाडौँ, १२ असारः दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा हुनुभएको छ ।

    समाचार प्रकाशन गरेका कारण अदालतको अवहेलना मुद्दामा आज थुनछेक बहसपछि विशेष अदालतले उहाँहरुलाई जनही रु २५ हजार धरौटीमा छोड्न आदेश दिइएको हो । दुवै जना धरौटी बुझाएर रिहा हुनुभएको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दुवै जनाको बयान र थुनछेक बहसपछि छोड्न आदेश दिएको हो ।

    दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गर्नुभएको थियो ।

    वादीको तर्फबाट विशेष अदालत बार एशोसिएशनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बञ्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गर्नुभएको थियो ।