काठमाडौँ, १३ असारः नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखा बलम्बुबाट दुईवटा कुकुर पठाएको छ । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदाल धौवजीले दुईवटा कुकुरसहित सात जनाको टोली पठाइएको जानकारी दिनुभएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण पानीको बहाव बढ्न जाँदा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । बलामीको खोजीका लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा सातजना सुरक्षाकर्मीसहित दुईवटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको उहाँले बताउनुभयो ।
बेपत्ता व्यक्तिको खोजी तथा उद्वारका लागि आज बिहानदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको छ । सोही ठाउँमा रहेको तीनवटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएको र उनलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । यसैगरी, केही चौपाया बाढीले बगाएको प्रहरीले जनाएको छ ।