काठमाडौँ, १३ असार : नेपाल र भारतका पत्रकारहरूलाई सीमापार जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण (डिआरआर)सम्बन्धी समाचार लेखनमा दक्ष बनाउने उद्देश्यसहितको चारदिने क्षेत्रीय कार्यशाला आज काठमाडौँमा सम्पन्न भएको छ । ‘नेपाल–भारत सन्दर्भमा सीमापार जलवायु परिवर्तन र डिआरआर रिपोर्टिङ सुदृढीकरण’ शीर्षकको उक्त कार्यशालामा नेपालका १५ र भारतका पाँच पत्रकार सहभागी थिए ।
युथ इनोभेसन ल्याब (वाई–ल्याब) र युनेस्को नेपालको सहकार्यमा आयोजित कार्यक्रममा सहभागी पत्रकारलाई हिमताल विस्फोट (ग्लोफ), अस्थिर स्रोत उत्खनन, चरम मौमजन्य घटना र जलवायुजन्य विपद्को सीमापार असरबारे तथ्यमा आधारित र सहकार्यमा आधारित पत्रकारिता गर्ने सीप प्रदान गरिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) का प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले नेपाल–भारतबीचको समन्वय र सहकार्य अझ मजबुत पार्नुपर्ने आवश्यकता औँल्याउँदै यस प्रकारका पहललाई पूर्ण समर्थन जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
युनेस्को नेपालका प्रतिनिधि जाको डु टुइटले सञ्चारमाध्यमहरूले जलवायु सहनशीलता प्रवर्द्धनमा निर्वाह गर्न सक्ने भूमिकालाई जोड दिँदै भन्नुभयो, “संयुक्त सञ्चार पहलले जानकारीको खाडल पूर्ति गर्न, नीति निर्माणमा असर पुर्याउन र अव्यवस्थित स्रोत दोहनजस्ता समस्यामा जवाफदेहिता कायम गर्न मद्दत गर्छ ।”
युथ इनोभेसन ल्याब (वाई–ल्याब)का सञ्चालक सन्तोष क्षेत्रीले नेपाल–भारतको सांस्कृतिक, सामाजिक र भौगोलिक सम्बन्धमात्र नभएर साझा नदी प्रणाली र पारिस्थितिकीलाई समेत जोड्दै जलवायु परिवर्तन तथा विपद्सम्बन्धी सूचनाहरू समयमै साझा गरिनु आवश्यक भएको बताएउनुभयो ।
कार्यशालाको पहिलो दिन ‘सीमाबिनाको समाचार ः नेपाल–भारत सन्दर्भमा जलवायु परिवर्तन र विपद् जोखिम समाधानका लागि सञ्चार सहकार्य’ शीर्षक प्यानल सञ्चालन भएको थियो । युनेस्को नेपालकी नम्रता शर्माद्वारा सञ्चालन गरिएको छलफलमा दिनेश भट्ट, जाको डु टुइट र भारतीय वातावरण पत्रकार आलोक गुप्ताको सहभागिता छलफलमा रहेको थियो ।
चारदिने कार्यशालामा विभिन्न विज्ञहरूको प्रस्तुतिसहित अभ्यासमूलक तालिम सञ्चालन भए । भूगर्भविद् डा वसन्तराज अधिकारीले ‘जलवायु विज्ञानलाई सरल रूपमा सञ्चार गर्ने’ तरिका र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को जलवायुविद् नीरा श्रेष्ठ प्रधानले हिन्दकुश हिमालय क्षेत्रमा देखिएका सीमापार जलवायु जोखिमबारे जानकारी दिनुभयो ।
‘विपद् र जलवायु परिवर्तन सन्दर्भमा गलत सूचनाविरुद्धको लडाइँ’ शीर्षकसत्रमा पत्रकारहरूलाई सूचना परीक्षण र मिथ्याचारबारे प्रशिक्षण दिइयो । नेपाली जलवायु युवा अभियन्ता ताशी ल्हाजोम र भारतीय पत्रकार चन्द्राणी सिन्हाले आफ्ना अनुभवहरू सुनाउनुभयो । ‘पाठकमुखी जलवायु कथा लेखन’मा सन्तोष क्षेत्री र ‘कूटनीति, सन्धि र सीमापार पत्रकारिता’मा वरिष्ठ पत्रकार कनकमणि दीक्षितले मार्गदर्शन गर्नुभयो ।
त्यसैगरी, काठमाडौँ विश्वविद्यालयकी डा रेश्मा श्रेष्ठले ‘जलवायु पत्रकारिताका लागि भू–स्थानिक उपकरण’ मा प्रशिक्षण दिनुभयो । जीआइएस इञ्जिनियर प्रयोन जोशीले सञ्चालन गरेको ‘डाटा स्टोरी ल्याब’ सत्रमा सहभागीहरूले तथ्यमा आधारित कथा लेखन अभ्यास गर्नुभयो ।
एनएएएमआईका आलोक खत्रीले ‘एआईको प्रयोगमार्फत डिआरआर रिपोर्टिङ’मा सत्र सञ्चालन र वाई–ल्याबका गोमा कार्की र सबिन डोटेलले विपद् सूचना व्यवस्थापन प्रणालीको प्रयोगबारे जानकारी दिनुभयो । पत्रकार रजनीश भण्डारीले खोजी पत्रकारितामा मल्टिमिडिया प्रयोगसम्बन्धी सीप सिकाउनुभयो ।
बढ्दो सीमापार जलवायु जोखिम र सही जानकारीको मागको सन्दर्भमा आयोजित यस कार्यशालाले पत्रकारहरूलाई जीआइएस, एआईलगायतका डिजिटल उपकरण, तथ्य–आधारित रिपोर्टिङ सीप र नवीन नेटवर्कहरूको माध्यमबाट सूचित सार्वजनिक चेतना, लचिलो समुदाय निर्माण र नीतिमा प्रभाव पार्ने क्षमताको विकास गरेको आयोजकहरूको भनाइ छ ।