सिरहा, १३ असार : लहान नगरको सहरी क्षेत्रमा सरसफाइ चुनौती बन्दै गइरहेका बेला स्थानीय बासिन्दाले स्वतस्फूर्त रूपमा सरसफाइ अभियान सुरू गरेका छन् । लहान–८ हुलाक टोलका बासिन्दाले टोल विकास समिति गठन गरी टोलमै सरसफाइ अभियान सञ्चालन गरेका हुन् ।
टोल विकास समिति अध्यक्ष देवेन्द्र कामैतका अनुसार केही दिनमै थालिएको अभियान सामूहिक प्रयासद्वारा प्रभावकारी बन्दै गएको छ । “हामीले दुर्गन्ध र फोहर हटाउने मात्र होइन, टोललाई नै सुन्दर बनाउने लक्ष्य लिएका छौँ”, अध्यक्ष कामैतले भन्नुभयो ।
अभियानमा लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साह र नगरप्रमुख महेशप्रसाद चौधरीले सहभागिता जनाएका छन् । नगरप्रमुख चौधरीले हुलाक टोलवासीको सक्रियता अन्य वडाका लागि प्रेरक बनेको भन्दै अभियानलाई प्रशंसा गर्नुभएको छ ।
फोहरलाई गल्ने र नगल्ने भनेर छुट्याउने, माइकिङ, पर्चा र पम्पलेटमार्फत जनचेतना फैलाउने कार्यसमेत गरिएको छ । सडक र नहर क्षेत्र आसपास अब जथाभावी फोहर देखिन्न । स्थानीयको भनाइअनुसार पहिले नाक थुन्दै हिँड्ने बाटो अहिले सफा र आकर्षक देखिन थालेको छ ।
हुलाक टोलमा नयाँ बसोबास गरेका शिक्षक, कर्मचारी र व्यापारीजस्ता शिक्षित र सचेत वर्ग सरसफाइमा अग्रसर देखिएका छन् । लहान नगरपालिका वडा नम्बर ४ देखि १० सम्म सरसफाइ अभियान तीव्र गतिमा अगाडि बढिरहेको जनाइएको छ ।
यसैबीच, लहान नगरपालिकाले हालै सम्पन्न १६औँ नगरसभाबाट मुख्य सडकको दुवै किनारमा हरेक सय मिटरमा डस्टबिन राख्ने निर्णय गरेको छ । नगरका पदाधिकारीका अनुसार फोहोरमैला सङ्कलनलाई नियमित र व्यवस्थित बनाउँदै लैजाने तयारी नगरपालिकाले गरेको छ ।