असार १४, २०८२ शनिबार

झापा, १४ असार : भद्रपुरको इतिहासलाई उजागर गर्दै पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’  सार्वजनिक गरिएको छ । 
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले भद्रपुर नगरपालिकाको सभाहलमा शुक्रबारआयोजित कार्यक्रममा  सो पुस्तकको सार्वजनिक गर्नुभएको हो । 

पुस्तकमा भद्रपुरको गाथामा जंगे पिलरको कथा, झापाको व्यथा र सय बर्षभन्दा अघिदेखिको भद्रपुरलाई जीवन्त राख्ने व्यक्तित्वहरुको समर्पण र साहसको सांराश रहेको उहाँले बताउनुभयो । 

पुस्तकका लेखक गोपाल गिरीले डेढ सय बर्ष अघिको छरपस्टिएको इतिहासलाई समेटेर लिपिबद्ध र व्यवस्थित गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले यो पुस्तक संकलित ऐतिहासिक तथ्यहरुको समिस्श्रण रहेको, आफूले देखेको, सुनेको र महसूस गरेको कुरालाई उजागर गर्ने प्रयास गरेको बताउनुभयो । 
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल, उपप्रमुख राधा कार्की, प्रेस काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासंघका झापा अध्यक्ष एकराज गिरी र प्रेस क्लब भद्रपुरका अध्यक्ष राजवावु शंकरले पुस्तक भद्रपुरको बारेमा अध्ययन अनुसन्धान गर्नेहरुको लागि महत्वपूर्ण रहेको बताउनुभयो । सो पुस्तकका वारेमा अग्रज पत्रकार चिन्तामणी दाहाल र तारामणी सापकोटाले टिप्पणी गर्नुभएको थियो । –––