असार २१, २०८२ शनिबार

काठमाडौँ, २१ असारः समाजको अग्रगामी रुपान्तरणका लागि हामी सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । 

    सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित सल्लाहकारसँगको अन्तरक्रियामा समाजका सल्लाहकारले नकारात्मक सोचलाई परित्याग गरेर सकारात्मक सोचका साथ अघि नबढेसम्म सबल र समृद्ध समाज निर्माण हुन नसक्ने र हाम्रो पछौटेपनको अन्त्य पनि हुन नसक्ने उल्लेख गर्नुभयो । 

    समाजका सल्लाहकार एवं राससका पूर्वमहाप्रबन्धक जयशङ्कर महतोले मानिसले सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै मानवीय र समाजसेवाबाट मात्र आत्मसन्तुष्टि प्राप्त हुने बताउनुभयो । 

    उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य समाजको अग्रगामी रुपान्तरणका लागि हुनुपर्छ । समाजमा भएका सबै प्रकारका अन्याय, विभेद, धनी र गरिबबीचको खाडल अन्त्यमा केन्द्रित हुनुपर्छ । त्यसका लागि केही समय लाग्न सक्छ, प्रयास जारी राख्नुपर्छ ।”

    समाजका सल्लाहकार डा अशोक महासेठले समाजमा देखिएको विकृति–विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि हामी सबै इमान्दारीपूर्वक अग्रसर हुनुपर्नेमा जोड दिँदै समतामूलक समाज र सामाजिक न्याय स्थापनाका लागि सुडी समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    समाजका अगुवा तथा सल्लाहकार इञ्जिनियर उमाशङ्कर साहले हाम्रो समाजमा पनि आशाभन्दा निराशाको लहर ठूलो छ । सुडी समुदायलाई हाम्रो समाज हामी आफैँ बनाउनुपर्छ, बनाउन सकिन्छ भन्ने आशा र ढाडस दिलाउने सन्देश दिनुपर्छ भन्दै निराशा छर्ने होइन, आशाको सन्देश प्रवाह गरेर समाज बनाउनुपर्छ । यसका लागि समाजका सबै सदस्यले एकताबद्ध भएर आगाडि बढनुपर्नेमा जोड दिनुभयो । 

    समाजका अध्यक्ष शीतलप्रसाद महतोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समाजका कोषाध्यक्ष विनोद महासेठले सबल र समृद्ध समाज निर्माणका लागि समाजका सबै सदस्यबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।