असार २१, २०८२ शनिबार

वालिङ (स्याङ्जा), २१ असारः पछिल्लो समय गुरुङ समुदायका मानिसले लेख्ने खेमा लिपिको प्रयोग हराउँदै जान थालेपछि संरक्षणका लागि पहल थालिएको छ ।

    आधुनिकतासँगै पछिल्लो समय नयाँ पुस्तामा खेमा लिपिको प्रयोगमा कमी हुँदै जाँदा भाषा तथा लिपिको प्रयोग हराउने जोखिम बढेपछि यसको संरक्षणका लागि वालिङ नगरपालिका र तमु ह्युल छोजधीँ स्याङ्जाले संरक्षणको पहल थालेका हुन् ।

    नयाँ पुस्तालाई भाषा तथा लिपिका बारेमा प्रशिक्षण दिनेगरी नेपालमा पहिलोपटक वालिङमा नगरस्तरीय खेमा लिपिसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिइएको तमु ह्युला छोजधीं गण्डकी प्रदेशका अध्यक्ष एवं वालिङ नगरपालिकाका प्रवक्ता पदमराज गुरुङले बताउनुभयो ।

    स्याङ्जाको वालिङ नगरपालिका–४ बस्यानी निवासी पिमबहादुर गुरुङले खोज अनुसन्धान गरी खेमा लिपि प्रयोगमा ल्याउनुभएको उहाँले बताउनुभयो । “खेमा लिपिको उत्पत्ति पनि वालिङबाटै भएकाले अब यसको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने देखेपछि संरक्षणमा जुटेका हौँ”, उहाँले भन्नुभयो, “अब यो लिपिलाई प्रशिक्षित प्रशिक्षकमार्फत विद्यालय तथा टोलटोलमा पु¥याउँछौँ ।” भाषा तथा लिपिको संरक्षणका लागि पनि नयाँ पुस्तामा पुस्तान्तरण हुँदै जान जरुरी रहेको प्रवक्ता गुरुङले बताउनुभयो । 

    लिपिबिना भाषाको अस्तित्व नरहने भएकाले लिपिको प्रयोगमा जोड दिइएको तमु भाषा तथा खेमा लिपिका अभियान्ता भीम गुरुङले बताउनुभयो । आफ्नो भाषा, कला, संस्कार संस्कृतिको संरक्षण र जगेर्ना गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।

    “खेमा लिपिसम्बन्धी प्रशिक्षणलाई हामीले देशव्यापी रूपमा लैजान्छौँ”, अभियान्ता गुरुङले भन्नुभयो, “वालिङमा हामीले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापनरत शिक्षक÷शिक्षिकालाई प्रशिक्षक प्रशिक्षण गरेका हौँ ।”

    गुरुङ समुदायको ग्रन्थमा उल्लेख गरिएको यस भाषालाई लिपिबद्ध गर्न पनि प्रशिक्षक प्रशिक्षणले महत्त्वपूर्ण सहयोग पुर्‍याउने अभियान्ता गुरुङले विश्वास व्यक्त गर्नुभयो । ग्रन्थ लिपिबद्ध हुने भएपछि गुरुङ समुदायमा हौसला छाएको उहाँको भनाइ छ ।

    राष्ट्रिय भाषा आयोगमा खेमा लिपि दर्ता भएको गुरुङ भाषालाई मान्यता दिने, कामकाजी भाषाका रूपमा प्रयोग गर्ने, पाठ्यक्रम निर्माण भई कार्यान्वयन  भइरहेकाले यसको संरक्षणमा टेवा पुगेको अभियान्ता गुरुङले बताउनुभयो ।

    प्रशिक्षक प्रशिक्षणमा सहभागी भएर लिपिका बारेमा विस्तृत जान्ने÷बुझ्ने अवसर प्राप्त भएको लक्ष्मी गुरुङले बताउनुभयो । आफ्नो भाषा, लिपि, कला, संस्कार, संस्कृतिका बारेमा नयाँ पुस्तालाई सिकाएर भाषा तथा लिपिको संरक्षणमा लाग्ने उहाँको भनाइ छ । लक्ष्मी गुरुङजस्तै अन्य ५६ जनाले तमु भाषा तथा लिपिका बारेमा ज्ञान हासिल गरेर प्रशिक्षित हुनुभएको हो ।