उदयपुर (गाइघाट), २१ असारः कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले नेपालमा राजनीतिक दलका नेता नै भ्रष्टाचारमा जोडिँदा लोकतन्त्रको बदनाम भएको बताउनुभएको छ ।
आज यहाँ आयोजित उदयपुर उद्योग वाणिज्य सङ्घको तेस्रो जिल्ला अधिशेन उद्घाटन कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गनुपर्ने बेला तलदेखि माथिसम्म राजनीतिक दल र नेता भ्रष्टाचारमा जोडिनु दुःखद् भएको धारणा राख्नुभयो ।
“यो लोकतन्त्रको सबैभन्दा दुःखद् पक्ष हो । देशमा कामभन्दा बढी भाषण र आफ्नो स्वार्थ पूर्तिमा मात्र ध्यान दिँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बदनाम भइरहेको छ”, सभामुख बिष्टले भन्नुभयो,“देशले अब धेरै कुरामा परनिर्भर हुँदै गएको छ । उत्पादन र रोजगारीका लागि पर्याप्त ध्यान गएको छैन । अत्याश्यक उपभोग्य बस्तु पनि आयात गर्नुपर्ने अवस्था छ । यसले जनआक्रोस बढाउन भूमिका खेलेको छ, अब सचेत हुन आवश्यक छ ।”
देशलाई समृद्ध बनाउन उत्पादन बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने दुई वटा मात्र विकल्प रहेको उहाँको धारणा थियो ।
कार्यक्रममा सङ्घका अध्यक्ष चुडामणी कार्की, जिल्लास्थित राजनीतिक दलका नेतालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।