असार २१, २०८२ शनिबार

वीरेन्द्रनगर (सुर्खेत), २१ असारः वीरेन्द्रनगर नगरपालिकाको वडा नं ८ जिल्लाकै पहिलो वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा भएको छ । आज यहाँ आयोजित एक समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र नगरप्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा गर्नुभएको हो । 

    वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय शासन नगर बालमैत्री सम्पर्कव्यक्ति माधुरी न्यौपानेले घोषणासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार वडा नं ८ ले ५१ वटा सूचक तथा मापदण्ड पूरा गरेपछि यो उपलब्धि हासिल भएको जानकारी दिनुभयो । 

    उहाँका अनुसार बालमैत्री स्थानीय शासनका लागि सङ्घीय सरकारले तोकेका ५१ सूचक र २८ खुड्किलाअन्तर्गतका पाँच चरणको सफलता प्राप्त गर्नुपर्ने व्यवस्था छ । “वडा नं ८ ले ती सबै मापदण्ड पूरा गरेको छ । बाल संरक्षणका क्षेत्रमा १४ सूचक, बालविकासमा छ, बाल सहभागितामा छ तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा १५ सूचक पूरा गरेको हो”, उहाँले भन्नुभयो ।

    यस सफलता प्राप्तिमा वडा आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, खानेपानी तथा सरसफाइ, विद्यालय र आमा समूहको विशेष योगदान रहेको सम्पर्कव्यक्ति न्यौपानेले बताउनुभयो । 

    वडाले खुल्ला दिशामुक्त क्षेत्र घोषणा, पूर्ण खोप वडा घोषणा, पोषणमैत्री तथा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा, सुत्केरी आमा र बालबालिकालाई पोषण सामग्री तथा अतिरिक्त पोषण भत्ता वितरण, ‘सुनौलो हजार दिन’ अभियानअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य सचेतना र परामर्श कार्यक्रम सञ्चालन, पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुगाको औषधि वितरण, नियमित वृद्धि अनुगमन, साबुनपानीको प्रयोगसम्बन्धी अभ्यास, शुद्ध पिउने पानीबारे सचेतनालगायत सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन तथा कार्यान्वयन गर्दै आएको छ । 

    वडाका ८२ प्रतिशत परिवारमा शुद्ध पानी पुगेको छ भने बाँकी १८ प्रतिशत परिवारले निजी इनार, बोरिङ तथा पाइपमार्फत पानी उपयोग गर्दै आएका सम्पर्कव्यक्ति न्यौपानेले जानकारी दिनुभयो । विद्यालयस्तरका किशोरकिशोरी तथा आमा समूहलाई स्वच्छता, साबुनपानीको प्रयोग, शुद्ध पानी, पोषणसम्बन्धी नियमित प्रशिक्षण तथा सचेतना कार्यक्रम दिइँदै आएको छ । 

    वडा नं ८ का स्थानीयको सहकार्य, वडाको सक्रियता र सम्बन्धित निकायको सहभागिताले जिल्लामा पहिलो वातावरणमन्त्री तथा बालमैत्री वडा बनेको वडा कार्यालयले जनाएको छ ।