खजुरा (बाँके), २१ असारः नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी छल्न ‘कुलिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त लगानीमा वडा नं ४ बसपार्क क्षेत्रभित्र सेन्टर सञ्चालनमा ल्याइएको हो ।
नेपालगञ्जलाई नेपालकै सबैभन्दा बढी गर्मी हुने ठाउँका रूपमा चिन्ने गरिएको छ । गर्मीमा छल्न तातो हावाको लहर (लू) प्रतिकार्य योजनाअनुरुप यात्रुलाई लक्षित गरी बसपार्कभित्र कुलिङ सेन्टर निर्माण गरिएको उपमहानगरप्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार असाध्यै गर्मीसँगै (लू) चलेको समयमा यसले नागरिकलाई राहत दिनेछ । यहाँको उपयोगिताको आधारमा नगरका अन्य स्थानमा पनि आवश्यकताअनुसार कुलिङ सेन्टर बनाउने योजना रहेको उपमहानगरप्रमुख विष्टले बताउनुभयो ।
उपमहानगरपालिकाको रु २७ लाख लागतमा निर्माण गरिएको उक्त सेन्टरमा नेपाल रेडक्रस सोसाइटीले रु १२ लाख मूल्य बराबरका आवश्यक सामग्री सहयोग गरेको उपमहानगरको भौतिक पूर्वाधार शाखा प्रमुख ई भुपेन्द्र बोहराले जानकारी दिनुभयो ।
वातावरणमैत्री संरचनायुक्त यस ठाउँमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउनेपानीलगायत सुविधा रहेका छन् । एक हजार २९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको यस सेन्टरको छानामा युपिभिसी, सिलिङमा जिप्सन बोर्ड लगाइएको इन्जिनियर चन्दनराज दासले जानकारी दिनुभयो ।