असार २१, २०८२ शनिबार

अर्घाखाँची, २१ असार: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनुभएको छ ।

    आज अर्घाखाँचीको डिभिजन वन कार्यालयअन्तर्गतको डिभिजन वन नर्सरी, रुब्दीको अवलोकनपश्चा् उहाँले वृक्षरोपण मात्र नभइ त्यसपछिको संरक्षण र उपयोगितामा ध्यान दिनुपर्ने बताउनुभयो ।  मुख्यमन्त्री आचार्यले भन्नुभयो, “वनमा खेर जाने पातपतिङ्गर र झार सङ््कलन गरेर प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न सकिन्छ । यसले वन व्यवस्थापनमा योगदान पुग्नुका साथै डढेलो नियन्त्रणमा सघाउ पु¥याउँछ ।”

    उहाँले सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनमा सक्रिय बनाइ कृषि क्षेत्रसँग जोड्न सकिए यसले प्रदेश सरकारले अघि सारेको अर्गानिक खेती अभियानलाई थप टेवा पु¥याउने बताउनुभयो । वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोणले मात्र नभइ उद्यम, रोजगारी र आयआर्जनको स्रोतका रूपमा बिस्तार गर्ने खालका कार्यक्रम आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।  

    डिभिजन वन कार्यालयका सहायक वन अधिकृत केशर खड्काका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा ६३ हेक्टर क्षेत्रमा वृक्षरोपण गर्ने लक्ष्यअनुसार काम भएको छ । साउन १४ गतेसम्म करिब एक लाख बिरुवा वितरण भइसकेको उहाँले जानकारी दिनुभयो ।

    हाल जिल्लाभित्र छ वटा नर्सरीमा एक लाख ६३ हजार वर्षे र बहुवर्षे बिरुवा तयारी अवस्थामा रहेको डिभिजन वन प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।   डिभिजन वन कार्यालयले तेजपात र टिमुरको खेती बिस्तारको अभियान थालेको उहाँले बताउनुभयो ।  

    हालसम्म टिमुरका २० हजार ५००  र तेजपातका १२ हजार ९०० बोट रोपण गरिएको र यो अभियान साउन १४ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । बिरुवा रोपिएका क्षेत्रहरूको प्रभावकारी अनुगमनका लागि ‘जिपिएस लोकेसन’ प्रणालीमार्फत निगरानीको व्यवस्था गरिएको पनि कार्यालयले जनाएको छ ।