असार २१, २०८२ शनिबार

महोत्तरी, २१ असार : सरोकार भएकाहरूले चुरेको संरक्षण गर्न नसकिए मधेस प्रदेशको जीवन धरापमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रदेशको वन तथा वातावरण मन्त्रालयले आज यहाँ लालगढमा आयोजना गरेको पत्रकार र नागरिक समाजसँगको अन्तरक्रियामा सरोकार भएकाहरूले यस्तो बताएका हुन् । 

कार्यक्रममा प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले चुरे क्षेत्रको निरन्तर दोहन, वन फडानी र जलवायु परिवर्तनले वन तथा वातावरणमा प्रतिकूल प्रभाव परेको उल्लेख गर्नुभयो । उहाँले चुरे र मधेसमा वनको अवस्था  ‘रेडजोन’ मा पुगेको भन्दै यसलाई संरक्षण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री यादवले भन्नुभयो, “यहाँको वन र चुरे क्षेत्र सङ्कटमा छ । यसलाई बचाउन सकिएन भने मधेसको जीवन नै धरापमा पर्नेछ । अब सरकारले मात्र यसको संरक्षण गर्नसक्ने अवस्था छैन, त्यसकारण आमनागरिक समाज र जनताको संयुक्त पहलकदमी आवश्यक छ ।” 

उहाँले वनको संरक्षणलाई जीवनको मुद्दा बनाएर कलम चलाउन पत्रकारहरूसँग अपिल गर्नुभयो ।

    पछिल्ला केही दशकयता विकास पूर्वाधारलगायत विभिन्न नाममा यहाँको वन कटान हुँदै गएकामा सहभागीले चिन्ता व्यक्त गरेका छन् । अभिलेखमा तीन लाख ३९ हजार ३४४ हेक्टरमा वन भए पनि राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष केन्द्रबाहेकका अन्य वनक्षेत्र सबै अतिक्रमणको चपेटामा परेको कतिपयको भनाइ थियो ।

कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका  चुरे, नदी र वनक्षेत्र संरक्षणकर्मी, वातावरणविद्, स्थानीय तहका प्रतिनिधि, वनसम्बद्ध अधिकारी  र सञ्चारकर्मीको सहभागिता रहेको थियो । वन तथा वातावरण मन्त्रालयको भू तथा जलाधार शाखाका अधिकृत नवोनारायण मिश्रले कार्यक्रममा वन संरक्षणका लागि सरोकार भएका सबै निकायले संयुक्त पहलकदमी बढाउने प्रतिबद्धता जनाएको बताउनुभयो । 

मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।