भक्तपुर, २१ असारः नगरकोट भ्रमण वर्षका अवसरमा विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा ‘चित्रकला कार्यशाला’ को आयोजना गरिएको छ । चाँगुनारायण नगरपालिकाअन्तर्गत नगरकोट भ्रमण वर्ष सचिवालयले आयोजना गरेको कार्यशालाको आज नगरप्रमुख जीवन खत्रीले कलाकारहरूलाई क्यान्भास र रङ्ग हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको हो ।
नेपालकै पुरानो ऐतिहासिक संरचना र धार्मिक धरोहरका रूपमा रहेको चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पुर्याउँदै विश्वका पर्यटकको पहिलो रोजाइ बनाउन नगरपालिकाले भ्रमण वर्ष आयोजना गरेको नगरप्रमुख खत्रीले बताउनुभयो । चाँगुनारायणको कला, धार्मिक सम्पदा, ऐतिहासिक धरोहरलाई, यहाँका अनगिन्ती पर्यटकीय गन्तव्यलाई विश्व समुदायमाझ फैलाउन भ्रमण वर्ष सफल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
चाँगुनारायण नगरपालिकालाई समृद्ध बनाउन विकासको आधारशिला खडा गर्दै अभिलेखीकरण गर्ने र दस्तावज राख्ने कार्यलाई अगाडि बढाउन थालिएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो । चाँगुनारायणलाई सबैको सुन्दर बगैँचाको रूपमा किास गर्दै इतिहासदेखि भविश्यसम्मका पहिचानलाई कला र साहित्यमा उतार्न सम्मेलन सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख खत्रीले भन्नुभयो, “समाजमा विकास, स्थानीयको जीवनस्तर सुधार गरी मुहारमा मुस्कान ल्याउँदै सकारात्मक सोचका साथ अगाडि बढाउन पहल थालेका छौँ । आज क्यान्भासमा साहित्यलाई उतार्दै कला र साहित्यको समिश्रण गरिरहेका छौँ ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले चाँगुनारायण मन्दिर परिसरमा भएको चित्रकला कार्यशालाले यहाँको पहिचानलाई विश्वमाझ फैलाउने बताउनुभयो । उहाँले नगरकोट भ्रमण वर्षले चाँगुनारायणका सबै पर्यटकीय क्षेत्रको पहिचानलाई विश्वमाझ पु¥याउने बताउँदै ओझेलमा परेका सम्पदालाई आमनागरिक र पर्यटकमाझ पु¥याउन यो वर्ष उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरकोट भ्रमण वर्ष सचिवालयका सदस्य सचिव एवं पर्यटन शाखाका प्रमुख गोविन्द कट्टेलले २३ जना कलाकारले चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका सम्पदालाई क्यान्भासमा उतारेका जानकारी दिनुभयो । कलाकारले बनाएका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका चित्रलाई नगरपालिकाले अपनत्व ग्रहण गर्दै सङ्ग्रहालयका रूपमा विकास गर्ने उहाँले बताउनुभयो ।
कार्यशालामा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्याति प्राप्त चित्रकार÷कलाकारहरूले चाँगुनारायण नगरक्षेत्रका २३ वटा प्रसिद्ध धार्मिक एवं पर्यटकीय सम्पदाहरूका चित्र क्यान्भासमा उतार्नुभएको छ ।