रसुवा, २२ असारः जिल्ला आयुर्वेद चिकित्सालयले हिमाली तथा दुर्गम पहाडी जिल्ला रसुवामा आयुर्वेद चिकित्सा पद्धतितर्फ आमसर्वसाधारणको आकर्षण बढेको बताएको छ ।
धुञ्चेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चिकित्सालयका डा रोजिना ताम्राकारले गत साउनदेखि असार तेस्रो हप्तासम्म छ हजार ४८२ स्थानीय बासिन्दाले आयुर्वेदिक स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिनुभयो । आयुर्वेद पद्धतिको बहिरङ सेवाअन्तर्गत चार हजार ४९२ जनालाई उपचार एवं परामर्श सेवा प्रदान गरिएको डा ताम्राकारले स्पष्ट बताउनुभयो ।
आउँ, झाडापखला, पिनास, दम, गानुगोला, बाथ तथा स्त्रीरोगलगायत विविध समस्याका बिरामी औषधोपचारका लागि अस्पताल आउने गरेको उहाँले बताउनुभयो ।
यसरी चिकित्सालय आउने बिरामीमध्ये एक हजार १८४ लाई पञ्चकर्मबाट, ८० जनालाई योगका माध्यमबाट र ३८३ जना ज्येष्ठ नागरिकलाई आयुर्वेदिक पद्धतिबाट स्वास्थ्य उपचार सेवा प्रदान गरेको डा ताम्राकारले जानकारी दिनुभयो ।
रसुवा नागरिक समाजका अध्यक्ष बावुलाल तामाङका अनुसार ‘एलोपेथिक’ पद्धति अपनाउनुपर्नेबाहेक अन्य प्रकृतिका स्वास्थ्य समस्या समाधानका लागि आयुर्वेदतर्फ आमसर्वसाधारणको आकर्षण बढेको देखिन्छ ।