असार २२, २०८२ आइतबार

काठमाडौँ, २२ असारः विभिन्न राजनीति दलका नेताले राज्यका सबै संरचनामामा दलित समुदायको जनसङ्ख्याका आधारमा समान सहभागिता हुनुपर्ने माग गरेका छन् ।

    राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल (नाडजोन) ले यहाँ आज आयोजना गरेको ‘दलित आन्दोलन, समावेशी नीति र आमसञ्चारको भूमिका’ विषयक अन्तरसंवादमा उहाँहरुले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका संरचनामा दलित समुदायको उपस्थिति कमजोर रहेको उल्लेख गर्दै जनसङ्ख्याका आधारमा समान सहभागिताको माग गर्नुभएको हो । 

    नेपाल समाजबादी पार्टी (नयाँशक्ति)का उपाध्यक्ष दुर्गा सोबले राज्यका हरेक संरचनामा  दलित समुदायको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । 

    संविधानसभाका सदस्य तथा (नाडजोन)का अध्यक्ष विनोद पहाडीले संविधानमा राज्यका सबै निकायमा दलितको समानुपातिक सहभागिता हुने भनिए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । जनताको सर्वोच्च निकाय सङ्घीय संसद्मा दलित समुदायको सहभागिता घट्दो रहेको उल्लेख गर्दै गएको उहाँको भनाइ छ । 

    हाल प्रतिनिधिसभामा दलित समुदायबाट १६ जना अर्थात् पाँच दशमलव ८१ प्रतिशत प्रतिनिधित्व छ । दलितको जनसङ्ख्या भने १३ प्रतिशत छ । विसं २०६४ सालको संविधानसभामा ५० जना दलित (८.३२ प्रतिशत)को उपस्थिति थियो । विसं २०७० सालको संविधानसभामा ४० जना (६.६५ प्रतिशत) र २०७४ सालमा प्रतिनिधिसभामा २० जना (७.२७ प्रतिशत) रहेको थियो । 

    कूल ५९ जना सदस्य भएको राष्ट्रियसभामा आठ जनाको मात्रै सहभागिता छ । 

    त्यस अवसरमा    पत्रकार बाबुराम विश्वकर्माले सरकारले नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल पत्रकार महासङ्घ (एफऐनजे) र महिला आर्थिक पत्रकार सङ्घलाई रु एकका दरले अनुदान विनियोजन गर्दा नाडजोनलाई किन नदिएको भन्दै प्रश्न गर्नुभयो । यद्यपि सेजनले आधिकारिक रुपमा सरकारले उक्त अनुदान नलिने घोषणा गरिसकेको छ ।

    जनता समाजबादी पार्टीको नेत्री तथा संविधानसभाका सदस्य कमला विश्वकर्माले दलित समुदायको संवैधानिक अधिकारलाई व्यवहारिक रूपका कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । 

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले एफऐन पूर्ण रूपमा समावेशी रहेको उल्लेख गर्दै थप समावेशी बनाउन पहल गर्ने पतिबद्वता व्यक्त गर्नुभयो । उहाँले दलितको सवालमा आरक्षण लागू भएपछिको अवस्थाको अध्ययन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । 

    पत्रकार तथा दलित अधिकारकर्मी चक्रमान विश्वकर्माले गोरखापत्र संस्थान, राष्ट्रिय सममचार समिति (रासस), रेडियो नेपाल र नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यमको नीति निर्माण तहमा दलित समुदायको समान सभागिता हुनुपर्ने माग गर्नुभयो । 

    संविधानको प्रस्तावनामा सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको छ । मौलिक हकअन्तर्गत धारा ४० दलितको हक (१) मा ‘राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ भनिएको छ ।  धारा २४ मा जातीय भेदभाब तथा छुवाछूत अन्त्य गर्ने भनिएको छ । 

    दलित मुक्ति मोर्चाका उपाध्यक्ष पदम विश्वकर्माले दलित समुदायको विषयवस्तु र सहभागिताको हिसाबले आमसञ्चारमाध्यम समावेशी बन्नुपर्ने माग गर्नुभयो । दलित अधिकारकर्मी भक्त विश्वकर्माले वडादेखि सङ्घीय सरकार, संवैधानिक निकायलगायत राज्यका सबै संरचनामा दलितलगायत उत्पीडित समुदायको भौतिक सहभागिताका लागि आमसञ्चारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

    दलित अधिकारकर्मी पम्फा परियार, सञ्जु विश्वकर्मा, सरोज दिलु विश्वकर्मा, कमला परियार, जन पत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर बिसी, पत्रकार वीरेन्द्र ओलि र केशव अर्यालले अधिकारको निम्ति दलित समुदायको एकीकृत रूपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।