काठमाडौँ, २३ असार : नेपाल सङ्गीत तथा नाट्य–प्रतिष्ठानले आज राष्ट्रियता झल्किने सात प्रदेशका उत्कृष्ट सात गीत र दुई वटा ‘म्युजिक भिडियो’ सार्वजनिक गरेको छ ।
देशभरबाट छानिएका र मौलिक संस्कृति झल्कने ती गीतसँगै सङ्गीत सार्वजनिक हुँदा गायक, सङ्गीतकार, गीतकार, कलाकार, मोडल तथा पत्रकारको उपस्थिति थियो । साङ्गीतिक माहोलका बीच दुई वटा म्युजिक भिडियो र सात वटा अडियो रेकर्ड भएका राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरिएको हो ।
नक्सालस्थित प्रज्ञा–प्रतिष्ठानको कार्यालय भवनमा आयोजित कार्यक्रममा ‘तीते तीते...’ र ‘लहविरे भाका’को गीतको म्युजिक भिडियो सार्वजनिक गरियो । गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरिएको राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका राष्ट्रिय भावनाले ओतप्रोत गीतको अडियो रेकर्ड पनि सार्वजनिक गरिएको हो ।
उक्त समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिका लागि म्युजिक भिडियो र गीत रेकर्ड गरिएको बताउनुभयो । उहाँले सुरुमा तीन वटा मात्रै गीत छनोट गर्ने कुरा भए पनि असाध्यै राम्रा प्राप्त भएकाले बजेट अभावका बीच पनि सातवटा छनोट गरिएको बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको सन्दर्भमा मौलिक नेपाली संस्कृतिको जगेर्ना र अभिवृद्धिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक गरिएका म्युजिक भिडियो र अडियो प्रज्ञा–प्रतिष्ठानको ‘अफिसियल युट्युब च्यानल’मा अपलोड गरिएकाले हेरेर प्रतिक्रिया दिन अनुरोध गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुुश्मा महरा ‘प्रगति’ले अडियो रेकर्ड गरिएका सात वटै गीतको ‘भिजुअल’ बनाउने प्रतिबद्धता जनाउनुभयो । प्रतिष्ठानले आजै सार्वजनिक गरिएका भिडियोका निर्देशक र गीतका गीतकार, सङ्गीतकार र गायक गायिकालाई सम्मान गरेको छ ।
कुन गीतका सर्जक को ?
सार्वजनिक भएका भिडियोमध्ये शिक्षासम्बन्धी चेतना फैलाउने ‘तीते तीते...’ गीतको म्युजिक भिडियो अभि लामाले निर्देशन गर्नुभएको हो । यसको रचना प्रकाश सापकोटा, सङ्गीत महेश खड्का र गायन शान्तिश्री परियारको रहेको छभने कलाकारमा बिना रावत र अलि तामाङ छन् ।
त्यसै गरी पूर्वी पहाड ओखलढुङ्गाका वायुङ, थुलुङ र वाम्बुले समुदायले गाउँदै आएको लोपोन्मुख लहबिरे भाकाको गीतमा सङ्गीतकार लाहाङ सुब्बाको सङ्गीत संयोजन र गायक कुमार प्रयास, परेश राई र तेजकुमार राई तथा गायिका इन्द्रकला राई, मनमाबी राई र रश्मी राईको स्वर रहेको छ । यस गीतको म्युजिक भिडियो पनि निर्देशक अभि लामाले निर्देशन गर्नुभएको हो ।
राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ मा छनोट भएका सात प्रदेशका गीतमा कोशी प्रदेशबाट तेजकुमार राईको शब्दमा महेश खड्काको सङ्गीत, सन्दीप पनेरु र प्रिया पोखरेल पनेरुको स्वर छ ।
मधेस प्रदेशबाट लिलाराज दाहालको शब्द रचनामा बसन्त सापकोटाको सङ्गीत, प्रल्हाद तिमल्सिना र मनिसा सुनारले स्वर भर्नुभएको छ । त्यसैगरी बागमती प्रदेशबाट सृजना अर्यालको शब्दमा शान्तिराम राईको सङ्गीत तथा रोशन राईको गायन रहेको छ ।
लुम्बिनी प्रदेशबाट बसन्तकुमार आचार्यको गीतमा आशीष अविरलको सङ्गीत र स्वर छ । कर्णाली प्रदेशबाट क्षितिज समर्पणको गीतमा महेश खड्काको सङ्गीत, मिलन खपाङ्गी र मिना चौधरीले स्वर भर्नु भएको छ ।
सुदूरपश्चिमबाट धिरन नाथको गीतमा शान्तिराम राईको सङ्गीतमा रोशन राईको स्वर रहेको छभने गण्डकी प्रदेशबाट बाबुराम श्रेष्ठको गीतमा श्रीकृष्ण बम मल्लको सङ्गीत, लक्ष्मी मल्ल, सारिका घिमिरे, उषा गजुरेल र योगेश काजी शाहले स्वर दिनुभएको छ ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका चार कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा प्रदीप गुरागाईं, प्रवीन सापकोटा, ध्रुव वाग्ले र जगदीश सापकोट हुनुहुन्छ ।