काठमाडौँ, २३ असारः गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच आज भेटवार्ता भएको छ ।
परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री लेखकसँग स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
भेटमा गृहमन्त्री लेखकले दुई देशबीचको मित्रवत् सम्बन्ध, नेपालको विकास निर्माण र शान्ति प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेको उहाँले बताउनुभयो । “भेटमा दुई देशको विकास, आर्थिक मुद्दा”, प्रवक्ता तिवारीले भन्नुभयो, “जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनमा साझेदारी गर्नेलगायत भएको छ ।” भेटका क्रममा अन्य दुई पक्षीय चासोका विषयमा छलफल भएको उहाँको भनाइ थियो ।