असार २६, २०८२ बिहिबार

सिरहा, २६ असार : यहाँको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ । वडाले रु १० लाखको बजेटबाट चमार, डोम र साफी समुदायका १२६ घरलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको हो ।

वडाध्यक्ष विनोदकुमार यादवका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवामुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । “पातपतिङ्गर र पराल बटुलेर खाना पकाउँदा आगलागीको खतरा बढ्ने भएकाले ग्यास चुलो वितरण गरेका हौँ”, उहाँले बताउनुभयो । 

चमार टोलकी विन्दादेवी राम (४९) ले ग्यास चुलो पाएपछि जीवनमै ठूलो राहत मिलेको बताउनुभयो । “अब धुँवामा बस्नुपर्दैन”, उहाँले खुसी साट्नुभयो । वडाध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा पनि रु १० लाख बजेट छुट्याइएको छ । उक्त बजेटबाट मण्डल र मुखिया परिवारलाई चुलो वितरण गरिनेछ । “त्यसपछि वडाभरका सबै दलित बस्तीमा ग्यास चुलो पुग्नेछ”, उहाँले भन्नुभयो । 

यसअघि वडा कार्यालयले मुसहर बस्तीका ९९ घरपरिवारलाई पनि चुलो वितरण गरिसकेको छ । आर्थिक वर्ष ०८०÷०८१ मा रु नौ लाख खर्चेर रामपुर पिप्रा र तिलैया क्षेत्रका मुसहर बस्तीमा ग्यास चुलो जडान गरिएको थियो ।