काठमाडौँ, ३१ असारः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गर्नुभएको छ । उहाँले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा आकस्मिक बैठकमा सांसद चन्दले छाउपडी प्रथालाई निरन्तरता दिने व्यक्ति र जनप्रतिनिधिलाई राजनीतिक सदस्यता नदिन राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । उहाँले छाउगोठमा मृत्यु भएकी २८ वर्षीया कमला आउजीप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै कुप्रथालाई निरन्तरता दिनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सभाअध्यक्षमार्फत सरकारसँग माग गर्नुभयो ।
कञ्चनपुरको कृष्णपुर नगपालिकामा छाउगोठमा सुतेका बेला सर्पले डसेर आउजीको मृत्यु भएको थियो । “कानुनी रुपमा गोठ राख्न पाइन्छ कि पाइँदैन ? कसुरजन्य अपराधलाई प्रशय दिनेहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ”, सांसद चन्दले भन्नुभयो, “तीनै तहको सरकार पन्छिने, परिवार समाज पन्छिने अनि सबै दोष कुलदेवतालाई लगाउने ?”
–––