काठमाडौँ, ३१ असारः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमता बराबरको आयोजना सञ्चालनमा ल्याउन थालिएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको सवालको जवाफ दिँदै मन्त्री खड्काले यस बाढीबाट क्षति पुगेका चिलिमे, देवीघाट, त्रिशूली, सूर्यकुण्ड, बुद्धभूमि, अपरमौलुङलगायतका कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजना सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले ६० मेगावाट क्षमताको त्रिशूली ‘ए’ जलविद्युत् आयोजना केही दिनमा नै सञ्चालन हुने जानकारी गराउनुभयो ।
यस्तै बढी क्षमताका आयोजनालाई चाँडो सञ्चालनमा ल्याउन काम सुरु भइसकेको मन्त्री खड्काको भनाइ थियो ।
“सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना संरचनालाई सञ्चालनमा ल्याउन केही समय लाग्छ”, उहाँले भन्नुभयो, “बाढीबाट उक्त आयोजनामा बढी क्षति पुगेको थियो । यसको ‘हेडवर्कस’मा पूर्णरुपले क्षति पुगेको छ । यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिसकेका छौँ ।”
सभाको अघिल्लो बैठकमा मन्त्री खड्काले रसुवा बाढीबाट त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका विद्युत् आयोजना र प्रसारण संरचनामा गम्भीर क्षति हुँदा त्यसबाट करिब २६० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा विच्छेद रहेको जानकारी दिनुभएको थियो । उहाँले अहिले उक्त क्षेत्रमा बाढीको बहाव केही घट्दो क्रममा रहे पनि जोखिम यथावत् रहेको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
विस्तृत अध्ययन तथा मूल्याङ्कन कार्य अघि बढाइएको जानकारी दिँदै मन्त्री खड्काले सावधानीका सबै उपाय अवलम्बन गरेको उल्लेख गर्नुभयो । “पूर्वसूचना प्रणालीलाई थप प्रविधिमैत्री, सक्रिय र प्रभावकारी बनाउँछाँै”, उहाँले भन्नुभयो, “हिमतालको जोखिम मूल्याङ्कन तथा अनुगमनलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ ।”
–––