झापा, ३२ असार : मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति’ले संस्थामा आश्रित अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति अर्थाभाव भएको जनाउँदै सहयोगका निम्ति याचना गरेको छ ।
समितिले दुई दशकदेखि १६ जना अपाङ्गता भएका अनाथ बालबालिकालाई मेचीनगर–७ इँटाभट्टामा आवाससहित पठनपाठनको व्यवस्था गर्दै आएको छ । संस्थामा झापा, उदयपुर, ताप्लेजुङ र सुनसरीका १० जना बालक र छ जना बालिका रहेका छन् ।
“संस्थाको दिगो नियमित आयस्रोत केही छैन”, समितिका अध्यक्ष धर्मराज घिमिरेले संस्थामा आर्थिक सङ्कट चुलिएको बताउँदै भन्नुभयो, “आश्रय लिइरहेका बालबालिकाको भरणपोषण खर्च धान्न समस्या भइरहेको छ ।” विसं २०६० मा स्थापना भएको संस्थाले विभिन्न दातृ संस्थाको सहयोगमा मेचीनगर–७ मा अपाङ्गता भएका बालबालिकालाई आश्रय दिन पाँच कट्ठा जग्गामा तीनतले भवन निर्माण गरेको थियो ।
बुबाआमा नभएका र अपाङ्गता भएर बिचल्लीमा परेका ती बालबालिका कोही पनि प्रष्ट बोल्न सक्ने अवस्थाका छैनन् । आश्रित सात जना बालबालिकालाई स्थानीय सरस्वती आधारभूत विद्यालयमा पढ्ने व्यवस्था मिलाइएको र बाँकी नौ जनालाई संस्थाको भवनमा नै पढाउन एक जना शिक्षक नियुक्त गरिएको छ ।
संस्थालाई सहज रूपमा सञ्चालन गर्न वार्षिक रूपमा न्यूनतम रु १० लाखको स्रोत सुनिश्चित हुनुपर्नेमा हाल मेचीनगर नगरपालिकाबाहेक अन्य कुनै पनि सरकारी र दातृ निकायबाट सहयोग नरहेको उहाँले बताउनुभयो ।