मकवानपुर, १ साउनः बाग्मती प्रदेश सरकारले पौराणिक धार्मिक र सांस्कृतिक सम्पदालाई पुनर्जीवन दिने उद्देश्यका साथ ‘शिव सर्किट परियोजना’ अगाडि बढाउने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यो परियोजनाको अवधारणा सार्वजनिक गरेको हो ।
मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले शिव सर्किट परियोजनासम्बन्धी अवधारणा प्रस्तुत गर्नुभयो । उहाँका अनुसार परियोजना नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुनेछ । परियोजनाको मूल आधार प्राचीन वैदिक, हिन्दू र बौद्ध वाङ्मयमा उल्लेखित ‘हिमवत्खण्ड’मा वर्णन गरिएका ६४ शिवलिङ्ग तथा तीर्थस्थलहरु हुने र जसले बाग्मती प्रदेशका अधिकांश जिल्ला समेट्ने मन्त्री मास्केले बताउनुभयो ।
‘हिमवत्खण्ड’ स्कन्दपुराणअन्तर्गतको एक खण्ड हो, जसमा वर्तमान बाग्मती प्रदेशका सिन्धुली, दोलखा, रसुवा, धादिङ, मकवानपुर, नुवाकोट, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ जिल्लाभित्र रहेका ६४ शिवलिङ्गहरुको वर्णन गरिएको छ । ६४ शिवलिङ्गमध्ये तीनवटा मकवानपुरमा रहेको बताइन्छ । सिन्धुलीको कुशेश्वर क्षेत्रबाट सुरु भई पशुपतिनाथमा टुङ्गिने यो प्राचीन पदमार्गमा शिवलिङ्ग मात्र नभई, तपोभूमि, पवित्र नदी तथा तीर्थस्थल पनि समेटिएका छन् । १५औँ शताब्दीदेखिका हस्तलिखित ग्रन्थहरुमा यी स्थानको पठन–पूजन परम्पराले यसको ऐतिहासिक महत्वलाई अझ स्पष्ट बनाएको छ ।
मन्त्री मास्केले परियोजनाले केवल धार्मिक महत्त्व मात्र नभई प्रदेशको सामाजिक–आर्थिक विकासमा समेत टेवा पु¥याउने बताउनुभयो । “धार्मिक पदयात्रा परम्परालाई पुनर्जीवन दिँदै यो परियोजना पर्यावरणमैत्री र जनमैत्री बन्नेछ”, उहाँले भन्नुभयो, “परियोजना बहुयातायात विकल्पमा आधारित हुनेछ । पदयात्रा, साइकलमार्ग, मोटरयात्रा, केबुलकारलगायत माध्यममार्फत विभिन्न वर्ग र उमेरका तीर्थयात्री तथा पर्यटकलाई सहज बनाउने सोच राखिएको छ ।”
शिव सर्किट परियोजना स्थानीय स्रोत, सीप र प्रविधिको अधिकतम उपयोगसहित स्थानीय समुदायलाई सहभागी गराएर कार्यान्वयन गरिने मन्त्रालयको तयारी छ । यसबाट रोजगारी सिर्जना, उत्पादन र बजार विकास, सीप हस्तान्तरणलगायत क्षेत्रमा योगदान हुने मन्त्रालयको विश्वास छ । प्रदेश सरकारले यो परियोजनालाई आगामी वर्षदेखि लागू गर्ने योजना बनाएको छ ।
“आजको सामाजिक अवस्थाले मानिसलाई धर्म र संस्कृतिबाट टाढा बनाउँदै लगेको छ, त्यसैले यो परियोजनाले पुनः मूल मान्यतासँग जोड्न मद्दत पु¥याउनेछ,” मन्त्री मास्केले भन्नुभयो,“शिव सर्किटलाई व्यवस्थित गर्न सकेको खण्डमा भारतीय धार्मिक पर्यटकका लागि पनि आकर्षित गर्न सकिने अवस्था छ ।”