साउन १, २०८२ बिहिबार

गोदावरी (कैलाली), १ साउनः धनगढी उपमहानगरपालिका–७ स्थित वनस्पति अनुसन्धान केन्द्रअन्तर्गतको देवहरिया वनस्पति उद्यानले ८० हजारभन्दा बढी वनस्पति र जडीबुटीका बिरुवा स्थानीय किसानलाई वितरण गरेको छ । 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५० हजार जडीबुटीका विरुवा उत्पादन गर्ने लक्ष्य लिएको केन्द्रले ८१ हजार २४२ बिरुवा उत्पादन गरी  स्थानीयलाई वितरण गरेको केन्द्रका प्रमुख गङ्गादत्त भट्टले बताउनुभयो । 

केन्द्रले कुरिलो, चिउरी, निम, तेजपात, शीतलचिनीलगायत बिरुवा उत्पादन गरी  वितरण गरेको केन्द्रले जनाएको छ । व्यावसायिक रूपमा जडीबुटीखेती गर्न इच्छुक किसानले बिरुवा लिन चाहेमा वडाको सिफारिस र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपिका साथ केन्द्रमा आवेदन गर्नुपर्ने उहाँले बताउनुभयो । 

गत आवमा कैलालीको चुरे गाउँपालिका–३ मा २९, चुरे गाउँपालिका–४ गर्भामा २५ जना किसानलाई केन्द्रले  तालिम दिएकोे थियो । सोही आवदेखि बाजुराको बूढीगङ्गा २९ र अछामको मेल्लेखमा ६० जना व्यावसायिक रुपमा जडीबुटीखेतीमा लागेका केन्द्र प्रमुख भट्टले जानकारी दिनुभयो । 

सुदूरपश्चिमका पहाडी जिल्लामा रिठा, सतुवा, डालेचुक उत्पादन हुने गरेकाले त्यसलाई आधार बनाएर तालिम दिइएको हो । कैलालीको चुरे गाउँपालिकाका विभिन्न सामुदायिक वनमा ७९०० चिउरीका बिरुवा वितरण गरिएको केन्द्रले जनाएको छ । समूहमा जडीबुटीखेती गर्ने सहकारीलाई रु पाँच लाख अनुदानको व्यवस्था गरिएको केन्द्र प्रमुख भट्टले बताउनुभयो ।