साउन २, २०८२ शुक्रबार

अत्तरिया (कैलाली), २ साउनः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

    मुक्तकमैया महिला विकास मञ्चले आज धनगढीमा आयोजना गरेको २५औँ कमैया मुक्ति दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भन्नुभयो, “मुक्तिको घोषणा भए पनि मुक्तकमैयाका थुपै्र समस्या छन् । यसको समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एकजुट भएर अगाडि बढ्न जरुरी छ ।” 

    प्रदेश सरकारले बनाएको मुक्तकमैया, हलिया र कम्लरी पुनःस्थापना कार्यविधि पूर्ण रुपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ थियो । उहाँले कार्यविधि कार्यान्वयनको पाटो निरन्तर अगाडि बढेको उल्लेख गर्दै कार्यविधि कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुक्तकमैया, हलिया र कम्लरीको शिक्षा, स्वास्थ्य, रोजगारका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । थारू, रानाथारू समुदायका विभिन्न संस्कृति, संस्कार, रीतिरिवाज जगेर्ना गर्न प्रदेश सरकार तत्पर रहेको उहाँको भनाइ थियो ।

    तत्कालीन सरकारले २०५७ साउन २ गते बँधुवा मजदुरका रूपमा जमिनदारको घरमा काम गर्दै आएका कमैयालाई मुक्त भएको घोषणा गरेको थियो । कमैयामुक्ति घोषणाको लामो समय हुँदा पनि अझै केही मुक्तकमैयाको पुनःस्थापना हुन सकेको छैन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका गरी अझै दुई हजार ३७५ मुक्तकमैयाको पुनःस्थापना हुन नसकेको मुक्तकमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २५ हजार १९५ मुक्तकमैयाको मात्रै पुनःस्थापना भएको छ ।