साउन ३, २०८२ शनिबार

कैलाली, ३ साउनः वनस्पती अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुटीका बिरुवा वितरणसँगै तालिम पनि दिएको छ । 

व्यावसायिक रुपमा जडीबुटी खेती गर्न इच्छुक किसान तथा व्यक्तिगत प्रयोजनको लागि बिरुवा रोप्ने व्यक्तिलाई आर्थिक वर्ष २०८१÷८२ मा ८१ हजार २४२ वटा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा वितरण गरेको वनस्पति अनुसन्धान केन्द्र कार्यालयका प्रमुख गङ्गादत्त भट्टले जानकारी दिनुभयो । जसमा चिउँरी, नीम, तेजपात, शितल चिनी, कुरिलोलगायत बोटबिरुवा रहेका छन् ।

अनुसन्धान केन्द्रले वार्षिक ५० हजार विभिन्न प्रजातिका जडीबुटीका विरुवा उत्पादन गर्ने लक्ष्य भए पनि लक्ष्यभन्दा बढी बिरुवा वितरण गरिरहेको उहाँको भनाइ छ । केन्द्रले मापदण्ड बनाएर प्रत्येक आर्थिक वर्षमा जडीबुटीका बिरुवा वितरण गर्दै आएको छ भने प्रदेशमा जडीबुटी खेती विस्तारसम्बन्धी तालिम दिँदै आएको छ । 

गत आर्थिक वर्षमा कैलालीको चुरे गाउँपालिका—३ मा २९ जना र वडा नं ४ को गर्भामा २५ जना गरी जम्मा ५४ जनालाई जडीबुटी खेतीसम्बन्धी तालिम दिइएको कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो । त्यस्तै कैलाली र कञ्चनपुरका पाँच वटा जडीबुटी समूह सहकारीहरुलाई सम्बन्धी तालिम दिएको छ ।

तालिम दिने क्षेत्रमा पाइने जडीबुटीको अवस्था के छ, खेती गर्न सकिन्छ की सकिदैन, त्यसको सम्भावना के छ, माटोको उर्बरा शक्ति कस्तो छ , अध्ययन गरी पहिचान गरेर मात्रै तालिमको तय हुने गरेको उहाँले बताउनुभयो ।

कार्यालयले अघिल्लो आव २०८०÷८१ मा बाजुराको बुढीगङ्गा र अछामको मेल्लेखमा त्यहाँ उत्पादन हुने जडीबुटीको पहिचान गरी ६० जनालाई जडीबुटी खेती विस्तारसम्बन्धी तालिम दिएको थियो । यी क्षेत्रमा रिठ्ठा उत्पादन हुने गरेको र अछामको रामारोशनमा सतुवा, डालेचुक उत्पादन हुन्छ सोहीलाई आधार बनाएर तालिम दिने गरिएको छ ।

गत आवमा करिब १० हजार चिउरीका बिरुवा उत्पादन गरिएकोमा त्यसमध्ये सात हजार ९०० बिरुवा वितरण गरी चुरे क्षेत्रका सामुदायिक वनमा रोपी सकेको उहाँले बताउनुभयो । चिउरीको फूल माहुरीका लागि लाभदायिक हुन्छ भने यसको दानाबाट ध्यू उत्पादन गर्न सकिन्छ । जडीबुटीखेती गर्ने समूह सहकारीलाई अनुसन्धान केन्द्रले अनुदानको व्यवस्था पनि गर्दै आएको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

प्राकृतिक हराभरा भएको वनस्पति अनुसन्धान केन्द्रअन्र्तगत देवहरिया वनस्पति उद्यान १४९.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसभित्र जखौर, मुरफुट्टा र मुरफुट्टी गरी तीन वटा प्राकृतिक तालहरु रहेको छन् । पर्यटक, पर्यावरणीय हिसाबले यो उद्यानको छुट्टै महत्व छ ।