चितवन, ५ साउनः कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो ।
कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका छन् । यस्तै, सोही समयमा ६७२ जना छुटेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का हुन् भने अन्य चितवनका छन् ।
गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १४५ जना छ । यस्तै, उपचारका लागि विभिन्न कारागारबाट आउने कैदी छ जना रहेको उहाँले जानकारी दिनुभयो ।
उक्त अवधिमा ४२ जनाले ‘प्यारोल’ सुविधा लिएका छन् । प्यारोल सुविधाका लागि एक वर्षभन्दा बढी कैद तोकिएका र दुई तिहाइ कैद भुक्तान गरेका हुनुपर्ने हुन्छ ।
कारागारमा गत आर्थिक वर्षमा दुईजना कैदीबन्दीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । क्यान्सर रोगका कारण उनीहरूको मृत्यु भएको हो । अहिले कारागार कार्यालयमा ७३० जना छन् । जसमध्ये ६८४ जना पुरुष र ४६ जना महिला रहेका छन् । तीसँग आश्रित पाँचजना बालबालिका रहेका छन् । कारागारमा ४७० पुरुष र ३५ जना महिला राख्ने क्षमता रहेको छ ।
भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए
भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१÷८२ मा तीन लाख २० हजार ६४८ जनाले सेवा लिएका छन् । जसमध्ये ११ हजार ३४९ जनाको शल्यक्रिया गरिएको हो । तिनीहरूमध्ये चार हजार १३५ जनाको ‘फेको’ (मेसिन) प्रविधिबाट शल्यक्रिया गरिएको छ ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षमा तीन लाख ५३ हजार ३९७ जनाको आँखा उपचार गरिएको थियो । उक्त वर्ष ११ हजार ३२४ जनाको शल्यक्रिया गरिएको थियो । तीमध्ये चार हजार ३१२ जनाको फेको प्रविधिबाट शल्यक्रिया गरिएको हो ।
नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको यस अस्पताल मातहत चितवनसहित आठवटा जिल्लाका २५ ठाउँमा अस्पताल र आँखा उपचार केन्द्र सञ्चालनमा छन् । गत आर्थिक वर्षमा अस्पतालबाहिर बाह्य क्याम्प (शिविरमार्फत) ४० हजार ९३३ जनाको उपचार गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४२ हजार ८९४ रहेको थियो ।
अस्पतालका कार्यवाहक अध्यक्ष तेजेन्द्र खड्काका अनुसार अघिल्लो वर्ष आँखा पाक्ने समस्याले बिरामीको उच्च चाप भएकामा गत वर्ष यो समस्या कम रहेको थियो । यस्तै, अन्य सरकारी र निजी क्षेत्रका अस्पतालहरूले पनि आँखाको सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या केही घटेको हो । यद्यपि अस्पतालाले क्षेत्रसँगै सेवा विस्तार गर्दै गएको उहाँले बताउनुभयो ।
सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा विभिन्न जिल्लाका पालिकाहरूमा आँखा सेवा पु¥याइएको उहाँले बताउनुभयो । विभिन्न दातामार्फत प्राप्त हुने उपकरण र सहयोगका कारण सुलभ शुल्कमा उच्चस्तरको आँखाको उपचार दिन सकिएको उहाँ बताउनुहुन्छ ।
अस्पतालको भरतपुरमा सबैखाले उपचार हुने आँखाको टर्सरी अस्पताल छभने भरतपुर हाइटमा सिटी क्लिनिक सञ्चालनमा छ । पर्साको ठोरी र नवलपरासीको कावासोतीमा शल्यक्रिया सेवासहितको अस्पताल छभने २१ ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।
विक्रम संवत् २०४४ चैत १८ गते भरतपुरमा स्थापना भएको यस आँखा अस्पतालले सेवा विस्तार गर्दै आठवटा जिल्लामा पुगेको हो । चितवन, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) पर्सा, बारा, धादिङ, सिन्धुली, तनहुँ र सर्लाहीमा अस्पताल र क्याम्पमार्फत सेवा दिँदै आएको छ ।