–भीष्मराज ओझा
काठमाडौँ, २७ साउनः हात्ती संरक्षण गर्ने उद्देश्यका साथ अगस्त १२ तारिखमा विश्वभर हात्ती दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी हात्ती दिवस मनाइने गरेको छ । पछिल्लो समय खासगरी पूर्वी तराई क्षेत्रमा विविध कारणले मानव–हात्ती द्वन्द्व बढ्दो छ ।
हात्तीको बासस्थानको अतिक्रमणका कारण हात्ती मानव बस्तीमा पस्दा मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेन्ट लागेर हात्ती मर्ने गरेका छन् । त्यस्तै बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानवबस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी–सिकारी मुख्य चुनौती देखिएका छन् ।
सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट नेपालमा ३४५ जनाको मृत्यु भएको छ भने मानिसको आक्रमणबाट तथा करेन्ट लागेर ५५ हात्ती मरेका छन् । यसबाहेक हरेक वर्ष हात्तीबाट हुने कृषि पशु तथा बाली र घरगोठको क्षतिको परिणाम ठूलो छ । हात्तीको क्षतिबाट खासगरी वन जङ्गल नजिक बस्ने गरिब समुदाय बढी प्रभावित हुने गरेका छन् ।
न्यूनीकरणका लागि वन तथा वातावरण मन्त्रालयले प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न लागेको जनाएको छ । त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरिसकेको मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेले बताउनुभयो । साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिने उहाँको भनाइ छ ।
“मन्त्रालयले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हालसम्म क्षति पु¥याउने हात्तीलाई सुरक्षित स्थानमा प्रवेश गराउने, उद्धार र उपचार, क्षतिका लागि राहतको व्यवस्था, सचेतना कार्यक्रम, फेन्सिङ तारबार, मृतकका परिवारलाई रोजगार तथा छात्रवृत्ति, वैकल्पिक खेतीको प्रोत्साहनलगायत काम गर्दै आएको छ”, प्रवक्ता वाग्लेले भन्नुभयो ।
यसको समाधानका लागि शिक्षा र चेतनाका साथै स्थानीय जनताले वैकल्पिक खेतीका बारेमा समेत सोच्नुपर्नेमा विज्ञहरुको सुझाव छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव एवं हात्तीविज्ञ डा नरेश सुवेदीले प्रभावित क्षेत्रका मानिसमा बदलाको भावना कम गर्न राहतसम्बन्धी निर्देशिकालाई सरल बनाउनु अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
हात्ती द्वन्द्व भएका क्षेत्रमा हात्तीप्रति सकारात्मक व्यवहार बनाउन सके दुई तिहाइ द्वन्द्व न्यूनीकरण हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्तो द्वन्द्व घटाउन हात्ती हिँड्ने कोरिडोर संरक्षण गर्नु आवश्यक छ । हात्तीको द्वन्द्व हुने स्थानमा तत्काल सम्बोधन गर्ने संयन्त्र गठन गर्नु पनि आवश्यक छ ।” सचेतनामार्फत स्थानीयको व्यवहार प्रतिवर्तन गर्न सके मात्र पनि हात्तीका कारण हुने मानवीय क्षति ७० प्रतिशतसम्म कम गर्न सकिने उहाँको धारणा छ ।
पछिल्लो तथ्याङ्कनुसार नेपालमा २३० जङ्गली हात्ती र सरकारी तथा निजी रुपमा पालिएका १८० हात्ती रहेका छन् । यस्तै, भारतबाट ‘सिजन’मा थप जङ्गली हात्ती आउने र केही समय बसेर जाने गरेका छन् ।
विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले भारतीय सीमाबाट आउने हात्तीका कारण पनि क्षति हुने गरेको उल्लेख गर्दै यस सम्बन्धमा भारतसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिनुभयो । हात्तीको आक्रमणबाट बच्न पछिल्लो समय सुरु गरिएको फेन्सिङ तार प्रविधि प्रभावकारी बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थलमा खटिने कर्मचारीलाई स्रोत र सवारीसाधनले चुस्त बनाउनुपर्छ । हात्तीको रुट पहिचान गरी सो क्षेत्रमा हुने मानवीय क्षति कम गर्न सकिन्छ ।”
मानव–हात्ती द्वन्द्वबाट हुने क्षतिको अवस्था हेर्दा संरक्षण क्षेत्रभित्र र बाहिर बराबरी देखिन्छ भने मुख्य भित्री क्षेत्रमा खासै क्षति भएको देखिँदैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले मानव–हात्ती नेपालका पूर्वी तराई क्षेत्रमा भाले हात्तीको सङ्ख्या धेरै भएकाले तुलनात्मक बढी क्षति हुने गरेको बताउनुभयो । बर्दिया क्षेत्रमा पोथी हात्तीको सङ्ख्या धेरै भएकाले तुलनात्मक कम क्षति हुने गरेको उहाँको भनाइ थियो ।
नेपालमा जङ्गली हात्तीका लागि उपयुक्त आवास क्षेत्र १२ हजार वर्ग किलोमिटर (तराईको उत्तरी भाग, भवर, चुरे क्षेत्रको केही भाग र भित्री तराईको केही भाग) रहेको छ । यसअन्तर्गत ६ संरक्षण क्षेत्र (पाँच राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष) रहेको वरिष्ठ इकोलोजिष्ट आचार्यले जानकारी दिनुभयो । तराईमा २३० जङ्गली हात्तीले नेपालको कुल जनसङ्ख्याको ५२ प्रतिशत (करिब एक करोड ५० लाख) मानिसहरूसँग एउटै आवास क्षेत्र साझा गर्छन् ।
हात्तीकै विषयमा विद्यावारिधि गर्नुभएका बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा अशोक रामका अनुसार तराईका रूपन्देही र पश्चिमी नवलपरासीबाहेक सबै जिल्लामा हात्ती पाइन्छ । “परापूर्वकालदेखि नै हात्तीको ओहोरदोहर गर्ने हात्तीमार्गमा हाल बस्ती र खेती भएकाले त्यस्ता स्थानमा बेलाबेलामा हात्तीसँग मानिसको द्वन्द्व हुने गरेको छ । साथै मानिस र हात्तीले एउटै बासस्थान र आहार प्रयोग गर्ने गरेकाले पनि यो समस्या देखिएको हो”, डा रामले भन्नुभयो । बासस्थान विनाश हुनु र खण्डीकरण हुनु मानव–हात्ती द्वन्द्वको मुख्य कारण बनेको उहाँको भनाइ छ ।
विश्वमा दुई प्रजातिका हात्ती पाइन्छन् । एसियाली र अफ्रिकी हात्ती । एसियाली हात्ती नेपाल, भारत, भूटानलगायत १३ राष्ट्रमा पाइन्छन् । तिनको सङ्ख्या हाल करिब ५० हजारको हाराहारीमा रहेको बताइन्छ । विश्व संरक्षण सङ्घले हात्तीलाई सङ्कटापन्न प्रजातिको सूचीमा राखेको छ । नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत हात्तीलाई अनुसूची–१ मा राखेर यसको संरक्षणमा विशेष ध्यान दिएको छ ।