सियोल, २७ साउन (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट २५ मा आफ्ना दक्षिण कोरियाली समकक्षीलाई दुवै मुलुकको हालैको व्यापार सम्झौताको विवरण र चिप्स, जहाज निर्माण र अन्य विषयहरूमा छलफल गर्न स्वागत गर्नुहुने सियोलले मङ्गलबार बताएको छ ।
पच्चीस प्रतिशत धम्की दिइएको भन्सार शुल्कलाई १५ प्रतिशतमा घटाउने बदलामा ट्रम्पले जुलाई ३१ मा दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकालाई लगानीका लागि तीन खर्ब ५० अर्ब ‘दिने’ र एक खर्ब डलरको ऊर्जा उत्पादनहरू किन्ने बताउनुभएको थियो ।
ट्रम्पले कोरिया थप ‘ठूलो रकम पैसा’ लगानी गर्न सहमत भएको पनि बताउनुभयो । यसको स्तर राष्ट्रपति ली जे म्यूङले ह्वाइट हाउस भ्रमण गर्दा घोषणा गरिनेछ ।
लीको कार्यालयले विकसित वैश्विक सुरक्षा र आर्थिक वातावरणको प्रतिक्रियामा गठबन्धनलाई ‘भविष्य उन्मुख व्यापक रणनीतिक साझेदारी’ मा विकास गर्ने बारेमा बैठक हुने बताएको छ ।
“ट्रम्प र लीले सेमिकन्डक्टर, ब्याट्री र जहाज निर्माण जस्ता उत्पादन क्षेत्रहरूका साथै उन्नत प्रविधि, महत्त्वपूर्ण खनिज र अन्य क्षेत्रहरू समेट्ने आर्थिक सुरक्षा साझेदारीमा सहयोगका बारेमा छलफल गर्नुहुनेछ”, प्रवक्ता काङ् यु–जुङले भन्नुभयो ।
दक्षिण कोरियाली अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई आफ्नो पोत निर्माण उद्योग पुनर्जीवित गर्न मद्दत गर्ने सियोलको प्रतिबद्धता व्यापार सम्झौतामा पुग्नका लागि महत्त्वपूर्ण थियो भनेका छन् ।
दक्षिण कोरियाको पोत निर्माण उद्योग चीनपछि विश्वको दोस्रो ठूलो छ । संयुक्त राज्य अमेरिका दुवैभन्दा धेरै पछाडि छ ।
दक्षिण कोरियालाई एक प्रमुख रक्षा साझेदारका रूपमा स्थापित गर्दै वासिङ्टनले आफ्नो एसिया–प्रशान्त सैन्य कारबाहीलाई बलियो बनाउन विदेशी शिपयार्डहरू पनि बढ्दो रूपमा हेरिरहेको छ ।
सन् २०२४ मा दक्षिण कोरियाको सबैभन्दा ठूलो जहाज निर्माता मध्ये एक, हानवा ओसन, अमेरिकी नौसेनाको जहाजमा ड्राई–डक मर्मत सम्भार गर्ने पहिलो गैर–अमेरिकी कम्पनी बनेको थियो ।
नेताहरूको शिखर सम्मेलन जुनमा लीको चुनावपछि उहाँहरूको पहिलो हुनेछ । लीको चुनाव उहाँका पूववर्तीले मार्सल ल घोषणा गरेपछि उहाँलाई महाभियोग लगाइएपछि भएको थियो ।